बजार गुमाउँदै नेपाली उत्पादन

यादव ओझा
काठमाडौं–नेपाली गलैँचा, पश्मिना, ढाका तथा अल्लोबाट निर्मित बस्तुमा प्रयोग हुने मौलिक प्रविधिको विस्तारले नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार घट्दै गएको छ । हाते तान र चर्खाको प्रयोगबाट कपडा तथा तयारी पोषाक उत्पादन गर्ने मौलिक प्रविधिको प्रयोग अन्य देशमा समेत बढेपछि नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार घट्न थालेको हो ।
खासगरी चीन र भारतमा नेपाली मौलिक प्रविधिको प्रयोगबाट गलैँचा, पश्मिना लगायत तयारी पोषाकको उत्पादन बढ्दो क्रममा छ । नेपाली प्रविधिको नक्कलबाट उत्पादित चीनियाँ र भारतीय उत्पादनले नेपाली उत्पादनलाई विस्थापित गरेको नेपाल हस्तकला महासंघका धर्मराज शाक्य बताउँछन् ।  ‘नेपाली मौलिक प्रविधिको संरक्षण गर्नेतर्फ व्यवसायी चासो जान सकेको छैन,’ उनले भने, ‘हामीले संरक्षण गर्न नसकेकाले अरुले नक्कल गरेर हामीलाई विस्थापित गर्दैछन् ।’
पछिल्लो समय भारतले ‘इन्डो नेपाल कार्पेट’ का नाममा अन्तर्राष्ट्रिय बजारमा आफुले उत्पादन गरेका गलैंचाको निर्यात बढाइरहेको छ । तथ्याङ्क अनुसार भारतले ‘इन्डो नेपाल कार्पेट’ नामबाट विश्वका १४ वटा देशमा आफुले उत्पादन गरेका गलैँचाहरुको निर्यात गरिरहेको छ । जसमा नेपाली मौलिक प्रविधिको प्रयोग हुने गरेको छ । भारतको ब्यापार निर्यात विभागको तथ्याङ्क अनुसार त्यस्ता उत्पादनको वार्षिक निर्यात १५ प्रतिशतका दरले बढ्दो क्रममा छ ।
तर, नेपाली उत्पादनको औषत वार्षिक निर्यात १० प्रतिशतका दरले घट्दो क्रममा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷७१ मा करीब रू. ७ अर्ब ३८ करोडको गलैँचा निर्यात भएकोमा आव २०७१÷७२ मा घटेर ६ अर्ब ९४ करोड सीमित रह्यो । यस्तै पश्मिनाको निर्यात दर समेत वार्षिक औषत ६ प्रतिशतले घट्दो क्रममा छ । तथ्याङ्क अनुसार पश्मिनाको निर्यात २ अर्ब ५० करोडकै हाराहारीमा छ । आर्थिक वर्ष २०५५÷५६ सम्म वार्षिक रू. १५ अर्बको हाराहारीमा निर्यात हुने पश्मिनाको अन्तर्राष्ट्रिय बजार चीन र भारतकै उत्पादनले विस्थापित गरेको हो ।
पछिल्लो समय चीनिया उत्पादनले नेपाली उत्पादनको आन्तरिक बजार समेत खोसेको काठमाडौंको बौद्धस्थित युरो पश्मिना उद्योगका संचालक दिनेशराज शाक्य बताउँछन् । ‘चीनले गुणस्तर र मुल्यका हिसावले बजार अनुसार उत्पादन बढाइरहेको छ,’ उनले भने, ‘नेपाली उत्पादनको गुणस्तर समेत खस्कँदै गएकाले बजार गुम्दै छ ।’
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख इश्वरी प्रसाद घिमिरे उद्योगहरु ‘कलेक्टिभ ट्रेडमार्क’ (सामुहिक दर्ता चिन्ह)  अन्तर्गत आउन नसकेकाले नेपाली प्रविधिको नक्कल भइरहेको बताउँछन् । ‘प्रतिस्पर्धाको बजारमा राम्रो चिजको जसले पनि नक्कल गर्छ,’ उनले भने, ‘मुख्य त हामीले त्यो हाम्रो प्रविधि हो भनेर दावी गर्न सक्ने आधार बनाउनु पर्यो ।’ उत्पादनहरुको गुणस्तर कायम गर्न सके मौलिक प्रविधिको नक्कल रोक्न सकिने उनको तर्क छ । ‘हाम्रा उद्योगीले गुणस्तरीय सामान उत्पादन गरेर विश्वबजार नेपाली ब्राण्ड हो भन्ने विश्वास सिर्जना गर्न सक्नुपर्छ,’ उलने भने, ‘त्यसपछि नेपाली प्रविधिको नक्कल गर्नेहरुले पनि यहाँको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’
केन्द्रीय गलैँचा उत्पादक संघका अध्यक्ष छिरिङ शेर्पा व्यवसायीमा एकता नभएकाले नेपाली प्रविधिको नक्कल गरेर अरु देशले फाइदा लिइरहेको बताउँछन् । ‘हामीले हाम्रो प्रविधिलाई गोप्य पनि राख्नु पर्ने अवस्था हुन्छ,’ उनी भन्छन, ‘व्यवसायीबाटै उत्पादनको नाउमा प्रविधि बेच्ने काम भएको देखिन्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्धन समितिका अध्यक्ष अनुप बहादुर मल्ल व्यवसायीले गुणस्तरमा ध्यान दिए अरुको नक्कलले फरक नपार्ने बताउँछन् । ‘हामीले उत्पादनलाई गुणस्तरीय बनाउन सके प्रतिस्पर्धा गर्न गाह्रो छैन,’ उनले भने,् ‘अन्तरराष्ट्रिय निर्यात बढाउन गुणस्तरमा ध्यान दिनु जरुरी हुन्छ ।’