भूकम्पपछिको पुनर्निर्माण निर्माण व्यवसायीको प्राथमिकतामा

चैत १९, रत्ननगर– भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा रत्ननगरमा सकिएको छ।

साधारणसभा २९ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको हो। नयाँ संविधानलाई कार्यान्वयन गरी आर्थिक विकासमा लाग्न आह्वान गर्दै यसका लागि निजी क्षेत्र साझेदारीका लागि तयार रहेको व्यवसायीद्वारा जारी गरिएको घोषणापत्रमा उल्लेख छ।

भूकम्पपछिको पुनर्निर्माणमा महासङ्घका सदस्यहरु सहभागी हुने निष्कर्षसहित नेपाल सरकारबाट गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा अनिवार्य प्रतिनिधित्व गराउन सरकारसँग माग गरेको महासङ्घका अध्यक्ष शरदकुमार गौचनले जानकारी दिए।

उनका अनुसार भूकम्प र भारतीय नाकाबन्दीका कारण नगद प्रवाह हुन नसकी अधुरा रहेका निर्माण आयोजनालाई सहज पार्न एकपटक अतिरिक्त बैंक ग्यारेन्टी लिई कम्तीमा १० प्रतिशत रकम बराबरको थप मोबिलाइजेसन रकम उपलब्ध गराउन माग गरिएको छ।