पातपतिङ्गर सोहर्न तँछाडमछाड

बर्दिवास–वनजङ्गलका पातपतिङ्गरबाट राम्रो आम्दानी हुन थालेपछि महोत्तरी जिल्लाका दलित वस्तीका महिलाबीच पातपतिङ्गर सोहर्न तँछाडमछाड हुन्छ ।

मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् ।
समेटेर थुप्य्राइएको पातपतिङ्गर परबर खेती गर्ने किसानले राम्रो मूल्य दिएर लाने गरेपछि आपूmहरुको घरगुजारामा निक्कै राहत भएको २२ किलोमिटर टाढाबाट सोत्तर (सुकेका पात पतिङ्गर) सोहोर्न हात्तीलेट वनक्षेत्र पुगेकी जिल्लाकै हतिसर्वा–४ जमुनिंयाँको दलित वस्तीकी बुधनी सदाले बताउनुभयो । अहिले पातपतिङ्गर समेटेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो एक÷दुई सय जोगिने गरेको सो काममा संलग्न महिलाले बताएका छन् ।

जिल्लाका भङ्गाहा, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र सोनामाईसहितका गाविस वस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोहोर्न व्यस्त देखिएका छन् ।

जिल्लाका बर्दिवास र गौशाला नगरपालिका एवम् हात्तीलेट, बेलगाछी, खयरमारा र लक्ष्मीनियाँ गाविसमा पर्ने वनक्षेत्रमा पछिल्ला १५ दिनयता सयौँको सङ्ख्यामा पतिङ्गर सोहोर्ने महिला देखिने गरेका छन् ।