‘अब पछाडि फर्कनु भनेको कांग्रेस मास्ने कुरा हो’

्–नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फ विजयी एक मात्र नेतृ सुजाता कोइराला आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ०६२र६३ को जनआन्दोलनका उपलब्धिलाई जोगाउनुपर्ने तर्क गर्छिन् । कांग्रेस पछि फर्कन नहुने र नयाँ कोर्सको अगुवा हुनुपर्ने धारणा राख्ने सुजातासँग गरिएको कुराकानीः

महाधिवेशन सकियो । कस्तो लाग्यो ?
महाधिवेशनमा पैसाको खेल भयो । गाउँ–गाउँसम्म पैसा पुग्यो । समस्या के भने क्रियाशील सदस्यता वितरण गर्दा नै पैसाको खेल सुरु भइसकेको थियो । क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधि हुने मापदण्ड पहिलेभन्दा अहिले सजिलो बनाइयो । हाम्रो पार्टीले क्रियाशील सदस्यताबारे पनि विधान संशोधन गरेर पुनस्विचार गर्नुपर्ने अवस्था देखियो । पार्टीको चुनावमा पैसाको खेल र तडकभडक हुनु दुःखद कुरा हो ।

पैसाको कुरा एक ठाउँमा होला तर परिणामका आधारमा हेर्ने हो भने कोइराला परिवारले अघि सारेका रामचन्द्र पौडेललाई तपाईंहरूले जिताउन सक्नुभएन । किन ?
अरूको विषयमा त म भन्न सक्दिनँ । अरू ‘फ्याक्टर’हरू पनि होलान् । मैले रामचन्द्रजीको पक्षमा लबिङ गरेको हो । अर्को कुरा, उहाँ आफ्नै त्रुटिका कारण पनि हार्नु भो । उहाँले जिल्लाजिल्लामा संस्थापनकै बलिया मान्छेलाई हटाएर आफ्ना मान्छे अघि सारेर गुट बनाउने काम गर्नुभयो । त्यसैले संस्थापनकै धेरै मान्छे पौडेलजीसँग रिसाए, भोट दिएनन् ।

कोइराला परिवारका सदस्य, खास गरी शशांक र सुजाताले रामचन्द्रलाई भोट मागेनन् पनि भन्छन् । यो त घात गरेजस्तो कुरा भयो नि ?
मैले सपोर्ट गरेको हो । तर, चुनावमा केही त्रुटि भएका छन् । तयारी पनि पुगेन होला । दोस्रो चरणको चुनावमा मैले र महेश आचार्यजीले रामचन्द्रजीलाई एउटा कोठामा राखेर भनेका हौँ, ‘यो भएन, तपाईंले सबै मान्छेलाई एक्स्पोज गराउनूस् । सबैलाई लिएर मत माग्न हिँड्नूस् ।’ हामीले दबाब दिएपछि रामचन्द्रजीले त्यो प्रयास पनि गर्नुभयो तर ढिला भइसकेको थियो ।

कांग्रेसकै नेतृत्वमा ०६२र६३ को आन्दोलन भयो र देश गणतान्त्रिक भयो, धर्मनिरपेक्ष भयो र संघीयतामा जाने टुंगो लाग्यो । नयाँ संविधान आएको छ । तर, केही नेताहरू उपलब्धिलाई पुनस्विचार गर्ने कुरा गर्दै छन् । कांग्रेसभित्र के खिचडी पाक्दैछ ?
कसले के विचारले के के कुरा गरिरहेका छन्, त्यो मलाई थाहा छैन तर जनताले आन्दोलनबाट ल्याएका कुनै पनि उपलब्धिहरूमा पुनस्विचार गर्नुपर्छ भन्ने कुरा ठीक होइन । जनताले ल्याएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षको कुरा गुमाउने भन्नु त कांग्रेस मास्ने कुरा हो ।

अर्को कुरा, संविधान बनेको छ । यसका पछाडि धेरै मिहिनेत परेको छ । हिजो राजा र माओवादीका हातमा बन्दुक थियो, त्यस्तो अवस्थामा पनि नेपाली कांग्रेसले शान्ति प्रक्रिया अगाडि बढायो । आन्दोलनको भावनालाई समेटेर अगाडि आयो । जनजाति, मधेसी, दलित र महिला सबैको संविधान पनि बन्यो । यसमा केही त्रुटि छन् भने संशोधन गर्न सकिन्छ । तर, आन्दोलनले ल्याएको उपलब्धिबाट ‘ब्याक’ हुन सकिँदैन ।

शशांक कोइरालाले त सार्वजनिक रूपमै उपलब्धिहरूबारे पुनस्विचारको कुरा उठाउनु भो त ?
उहाँले भनेर हुन्छ ? कांग्रेसको केन्द्रीय समितिका कुन सदस्यले मान्छन् त्यस्तो कुरा ? शशांकजीले के सोचेर त्यस्तो बोल्नुभयो ? मेरो भेट भएको छैन । कुरा हुन पनि पाएको छैन । तर, अब राजतन्त्र फर्कन असम्भव छ । देश गणतन्त्र र संघीयतामै रहन्छ । गणतन्त्र र संघीयताबाट बाहिर आउने कुरा गर्नु देशलाई अस्थिरतातिर धकेल्नु हो ।

भनेपछि पछि हट्ने कुरा प्रतिगामी हो ?
माओवादीले बन्दुक बुझाइनसकेका बेला र तराईमा आन्दोलन चर्किरहेका बेला हातमा केही नभएको कांग्रेस चुनावमा गएको हो । त्यतिबेला कांग्रेसले चुनाव हार्छ भन्दा गिरिजाबाबुले मसँगै भन्नुभएको थियो, हामी हारेर केही फरक पर्दैन, देशले हार्नु भएन । हो नि, माओवादीजस्तो शक्तिलाई शान्ति प्रक्रियामा ल्याएर संसदीय परिपाटीमा ल्याउनु कांग्रेसको ठूलो उपलब्धि हो । त्यसैले देश हार्ने कुरा गर्नु राम्रो होइन । अस्थिरता पैदा गर्ने कुरा राम्रो होइन । जसले उपलब्धिलाई मास्ने कुरा गर्छ, ऊ आफैँ मासिन्छ ।

पछिल्लो महाधिवेशनपछि त कोइराला परिवारको अबको नेता या उत्तराधिकारी त शशांक कोइराला बन्नेजस्तो देखियो नि  लिगेसीको यो दौडमा तपाईं आफू कहाँनेर पछि पर्नुभयो ?
लिगेसी भनेको विचारको कुरा हो । कसैले म कसैको उत्तराधिकारी हुँ भनेर हुने पनि होइन । जहाँसम्म मेरो कुरा छ, यही महाधिवेशनमा मविरुद्ध धेरै षड्यन्त्र भएका थिए । म एक्लै लडेर खुलामा २५ भित्र पर्न सफल भएँ । र, लिडरसिप भनेको यही परिवारको भन्ने पनि हुँदैन । बीपीको छोरा भएर प्रकाश कोइरालाजी आज कहाँ हुनुहुन्छ रु प्रकाशजी पनि पपुलर मान्छे हो नि १ उहाँले बीपीको विचार अगाडि बढाउन सक्नुभएन । गलत बाटो लिनुभयो, त्यसैले अहिले कांग्रेसभित्र उहाँको स्थान छैन । अब शशांकजीको पनि परीक्षाको समय हो । उहाँले सही बाटो लिनुभयो भने हामी सबैको सहयोग हुन्छ, लिनुभएन भने उहाँलाई नै गाह्रो पर्छ ।

एकथरीको अनुमान के छ भने अब पार्टी सभापति शेरबहादुर देउवाले विधान संशोधन गराएर कोइराला परिवारको एउटा हिस्सालाई आफ् नो ताकत बनाउनुहुन्छ । खास गरी तपाईंलाई उपसभापति बनाउन सक्नुहुन्छ । यस्तो कुनै संकेत मिलेको छ ?
देउवाजीसँग त्यस्तो कुनै कुरा हुन पाएको छैन । तर, म सभापतिमै उठ्न खोजेको मान्छे हो, उम्मेदवारी नै घोषणा गरेको मान्छे हो तर परिस्थिति अलिक फरक बन्दै गएकाले हामीले रामचन्द्रजीलाई अगाडि सारेका थियौँ । त्यसैले मलाई उपसभापति बनाउने कुरा नौलो भने होइन । म उपसभापति हुन योग्य हो भन्ने कुरा सबैलाई थाहा छ । मलाई विश्वास छ, सभापति देउवाले यो कुरा बुझ्नुहुन्छ ।

तपाईंको राजनीतिक स्पेश सिर्जना गर्ने हिजो गिरिजाबाबु र त्यसपछि सुशील कोइराला हुनुहुन्थ्यो । अहिले कोही छैनन्, त्यसैले कहिलेकाहीँ पार्टीभित्र एक्लो महसुस हुँदैन ?
सुशीलदाले त मलाई खास त्यस्तो के गर्नुभयो र ? खोइ केही सहयोग गरेजस्तो लाग्दैन । तर पनि, उहाँ हुँदा भरोसा भएजस्तो लाग्थ्यो । अभिभावक हुनुहुन्थ्यो । म पनि मान्छे नै हुँ, कहिलेकाहीँ एक्लो महसुस हुन्छ । तर, राजनीतिक रूपमा कार्यकर्ताले मलाई माया गरेका छन् भन्ने अनुभव हुँदा भने त्यस्तो एक्लो फिल हुँदैन ।

तपाईंले अनेकथरी कार्यकर्तासँग संगत गर्नुपर्छ । नेता हुनुको अनुभूति कस्तो रह्यो ?
जब तपाईंले गरेका राम्रा कामको, मिहिनेतको कदर हुँदैन । अवमूल्यन हुन्छ । तपार्इंलाई अपमान र अविश्वास हुन्छ, षड्यन्त्र र घात हुन्छ, त्यतिबेला नेता हुनुमा बहुत दुस्ख अनुभव हुन्छ । यसपटकको महाधिवेशनमै मलाई त्यस्तो भयो । मैले जिल्लाजिल्ला घुमेर त्यत्रा साथीहरू भेटे, बेक्कार भेटेँ भन्ने पनि लाग्यो । यहाँ त दुस्खै नगरेका मान्छेहरूलाई सेट गरिँदो रहेछ । पार्टीभित्र एउटा यस्तो ग्रुप छ, जसले विवेकले निर्णय गर्दैन, जहाँ भन्यो त्यहाँ मत हाल्छ । पार्टीभित्र उठ् भन्दा उठ्ने, बस् भन्दा बस्ने भनेर मान्ने समूह तयार पारिनु राम्रो होइन । त्यसले दुस्ख गरेको मान्छेको नैतिक भावनालाई हत्या गर्छ ।

सभापति देउवाबाट फेरि कांग्रेसको नेतृत्व कोइराला परिवारमा आउँछ कि आउँदैन होला ? के सोच्नुहुन्छ ?
यो कुरा त कोइराला परिवारमा भर पर्छ । कोइराला परिवारमा नेतृत्व क्षमता पनि देखिनुपर्‍यो । मलाई थाहा छैन, कोइराला परिवारभित्र पार्टीलाई हाँक्न सक्ने क्षमता छ कि छैन । अब शेरबहादुरजी आउनुभएको छ, शेरबहादुरजीसँग पनि डराउनुपर्छ भन्ने लाग्दैन । नराम्रा काम गर्नुभयो भने उहाँ आफैँ सिद्धिनु हुन्छ । तर, उहाँले बीपी र गिरिजाबाबुको लिगेसीलाई अगाडि बढाउन नसक्ने भन्ने छैन । उहाँ पनि जनताकै छोरा हो । मलाई विश्वास छ, उहाँ धेरै अनुभवी हुनुहुन्छ । अब गल्ती गर्नुहुन्न । अनुभवले त हो मान्छेलाई पाको बनाउने

आलोचकहरूले के कुरामा तपाईंको आलोचना गर्छन् भन्ने थाहा छ कि छैन ?
मलाई धेरै साथीहरूले सुझाव दिँदा ‘आउट स्पोकन’ भयो, बढी बोल्न भएन भन्छन् । डिप्लोमेटिक हुनुपर्‍यो भन्छन् । मनमा कुरा केही राख्न नसक्दा धेरैको छुच्चो पनि बनिँदो रहेछ । तर, म के कुरामा विश्वस्त छु भने मैले कसैलाई हानि गरेकी छैन । म देखेको कुरा, लागेको कुरा बोल्छु । म कतैबाट प्रभावित विचार राख्दिनँ । जे बोल्छु, आफ्नै विवेकले बोल्छु । साभारः नेपाल