फस्टाउँदै जडीबुटी उद्योग ः निजीक्षेत्रबाट साढे ५ अर्ब लगानी

यादव ओझा
काठमाडौं–अन्तरराष्ट्रिय प्रविधिको प्रयोग सहज हुँदै गएपछि जडीबुटीजन्य उद्योग फस्टाउँदै गएका छन् । केही समयअगाडि कच्चा पदार्थको रूपमा मात्र जडीबुटी निर्यात हुने गरेकोमा जडीबुटी उद्योग फस्टाउँदै गएपछि स्वदेशमै यसको प्रशोधन हुन थालेको छ । प्रविधिको विकासले साना तथा ठूला लगानीमा जडीबुटीसम्बन्धी उद्योग सञ्चालन गर्नेसमेत बढेका छन् ।

सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१र७२ सम्ममा १ हजार ५ सय ५० जडीबुटीजन्य उद्योग स्थापना भएका छन् । त्यसमध्ये हाल ७ सय ५० उद्योग सञ्चालनमा रहेको बताइएको छ । जडीबुटी उद्योगमा लगानीसँगै उत्पादनको बजारसमेत बढ्दै गएको छ । नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घका अध्यक्ष गोविन्द घिमिरे नेपाली जडीबुटीजन्य उत्पादनको बजार सम्भावना बढ्दै गएको बताउँछन् । ‘पछिल्लो समय नेपाली जडीबुटीजन्य उत्पादनको बजार बढ्दो क्रममा छ । वार्षिक औसत ५ प्रतिशतका दरले नेपाली जडीबुटीजन्य उत्पादनले बजार विस्तार गरिरहेका छन्,’ उनले भने, ‘बजार सम्भावना बढेकाले ठूलो मात्रामा लगानीसमेत बढदै गएको छ ।’

उद्योग विभागको तथ्याङ्कअनुसार जडीबुटीजन्य उद्योगमा निजीक्षेत्रबाट हालसम्म करीब रू। ५ अर्ब ५० करोड लगानी भएको छ र, वार्षिक करीब रू। ५० करोडका दरले नयाँ लगानी भइरहेको तथ्याङ्कले देखाउँछ । नेपालमा पाइने बहुमूल्य जडीबुटीसमेत स्वदेशमै प्रशोधन भएर बाहिर निर्यात भइरहेको व्यवसायीको भनाइ छ । वनस्पति विभागको अनुसन्धानले नेपालमा २ सय ६० प्रकारका वनस्पति जडीबुटीका रूपमा प्रयोग गर्न मिल्ने खालका छन् ।

त्यसमध्ये हाल ६० प्रकारका जडीबुटीको नेपालमै प्रशोधन हुन्छ । जडीबुटीजन्य वस्तुअन्तर्गत पछिल्लो समय औषधि, शृङ्गार र दैनिक उपभोग्यका अन्य सामग्रीको उत्पादन बढ्दै गएको छ । अन्तरराष्ट्रिय प्रविधिको प्रयोगबाट उत्पादन हुने नेपाली जडीबुटीजन्य सामग्री गुणस्तरका दृष्टिले समेत प्रतिस्पर्धी भएको उद्योगीहरू बताउँछन् । ‘पछिल्लो समय धेरैजसो नेपाली उपभोक्ताले स्वदेशी हर्वलकै सामग्री प्रयोग गर्छन्,’ काठमाडौंमा हर्वल उद्योग सञ्चालन गरिरहेका संयम श्रेष्ठले भने, ‘नेपाली उत्पादन गुणस्तरका दृष्टिले समेत अरू देशका उत्पादनसँग प्रतिस्पर्धा गर्ने खालका छन् ।’ आर्थिक वर्ष २०७०र७१ सम्म नेपाली जडीबुटीजन्य उत्पादनले आन्तरिक बजारमा ५ प्रतिशत हिस्सा ओगटेको थियो । चालू आवको माघ मसान्तसम्मकोे आन्तरिक बजार हिस्सा बढेर १५ प्रतिशत पुगेको नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कअनुसार नेपालमा वार्षिक करीब रू। ७ अर्ब बराबरको जडीबुटीजन्य वस्तुको उत्पादन हुन्छ ।