श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी–  डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई पराजित गर्दै इङ्ल्याण्ड भारतमा जारी आइसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति दिल्लीमा भएको खेलमा श्रीलंकालाई १० रनले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो।

टस हारेर पहिले व्याटिङ गरेको इङ्ल्याण्डले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६१ रनमात्रै बनाउन सक्यो। श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ७३ रन जोडेपनि हार टार्न सकेनन्।

यस्तै श्रीलंकाका चामरा कोपुगेदराले ३०, थिसरा परेराले २० तथा दासुन सानकाले १५ रनको योगदान दिएका थिए।
इंग्ल्याण्डका क्रिस जोर्डनले चार र डेविड विलीले दुई विकेट लिएका थिए।

यसअघि पहिले व्याटिङ गरेको इङ्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। उसका लागि जोस बटलरले नटआउट ६६ रन जोडेका थिए। यसैगरी ज्यासन रोयले ४२, जोए रुटले २५ तथा इओन मोर्गानले २२ रन जोडेका थिए।

इङ्ल्याण्डसँग पराजित भएको डिफेन्डिङ च्याम्पियन श्रीलंका भने सुपर टेनबाटै बाहिरिएको छ।