कांग्रेसमा दलको नेता बन्न देउवा र पौडेलबीच रस्साकस्सी

चैत १४, काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेलले दलको नेता आफूलाई दिन आग्रह गरिरहेका बेला पार्टी सभापति शेरवहादुर देउवा भने सांसदहको जोडघटाउमा तल्लिन छन्।

विधानको व्यवस्था र परम्परागत अभ्यास अनुसार संसदीय दलकै नेता प्रधानमन्त्री हुने गरेकाले यतिबेला देउवा आफ्नो विकल्प खोज्न तयार छैनन्। पौडेललाई पार्टी सभापतिमा पराजित गरेपछि देउवा कांग्रेसको मात्रै नभई राष्ट्रिय राजनीतिको शक्ति केन्द्र बनेका छन्।

दलको नेता पौडेललाई दिएर देउवा पार्टीभित्रै अर्को शक्तिकेन्द्र खडा गर्न चाहँदैनन। पौडेल पक्षले पदीय बाँडफाँडको जतिसुकै अनुनय गरे पनि देउवा संसदीय दलको नेता आफू बन्ने तयारीमा रहेको उनी निकट नेता बताउँछन्। त्यसका लागि देउवाले आफू र निकट नेताहरूमार्फत पौडेल पक्षका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कसरत समेत सुरु गरेका छन्।

पौडेल पक्षमा भने उम्मेदवार को हुने भन्ने नै अन्यौल छ। पौडेललाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रयासमा लाग्दै आएका केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रामशरण महत सहितका नेताहरु चुनावी प्रतिस्पर्धामा भने उनलाई अघि बढाउन नहुने पक्षमा छन्।( कान्तिपुर दैनिकबाट)