हुरीले उडायो टहरा, भूकम्पपीडितहरु खुला आकाशमुनि,कोही ओढारमा

चैत ११, गोरखा–रसुवा– दुई दिनदेखि लगातार आएको हावाहुरीले गोरखा र रसुवामा भूकम्पपीडितका टहरा र त्रिपाल उडाएको छ। बासस्थान उडाएपछि पीडितहरु खुला आकाशमुनि बस्न बाध्य छन्। कतिपय ओढारमा आश्रय लिएका छन्।

गोरखामा बुधवार बिहानैदेखि ५ घण्टासम्म चलेको हावाहुरीले सयौँ अस्थायी टहरा उडाएको छ। भूकम्पको केन्द्रविन्दु बारपाक आसपासका लाप्राक, गुम्दा, करौँजा, लापु, उहिया, थुमी मान्वु, सिर्दिबास र काशीगाउँ गाविसमा बढी क्षति भएको गाउँलेले बताएका छन्।

‘हावाहुरीले टहराको जस्तापाता उडाएर बुढीगण्डकी नदीमा पुर्यायो, करौँजा–४ की आशामाय घलेले भनिन्,‘ठूल्ठूला रुख पनि ढालेको छ।’ स्थानीय सुकबहादुर गुरुङले पीडितहरु भोकभोकै बारीको कुनामा बसेको बताए।

रसुवामा कतिपयको ओढारमा बास

हुरीले अस्थायी छाप्रो उडाइदिएपछि धुन्चे वरिपरिका केही बासिन्दा ओढारको शरणमा पुगेका छन्। ‘बस्ने ठाउँ सबै हुरीले लग्यो, सदरमुकाम धुन्चेस्थित प्राधिकरणभन्दा माथि बसोबास गर्दै आएकी हाकु–३ की किपुयल्मो तामाङले भनिन्, ‘अब ओढारमा बस्नु परेको छ।’

तीब्र हुरी बतासले उनको परिवार ओढारमा रात काट्न बाध्य भएका छन्। बुधबार चलेको हावाहुरीले रसुवाको धुन्चे, हाकु, सयफ्रु, गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन लगायतका स्थानीयबासीलाई प्रभावित बनाएको छ। (कान्तिपुर दैनिकबाट)