हिमालको पानी खाएर स्वाभिमान जोगाउन वातावरण मन्त्रीको आग्रह

चैत १०, ललितपुर–वातावरणमन्त्री विश्वेन्द्र पासवानले अहिले हिमालको पानी खाएर स्वाभिमान जोगाउन आवश्यक भएको बताएका छन् ।
विश्व पानी दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा चारैदिशा पानी छर्केर उद्घाटन गर्दै उनले भने, ‘यसका लागि नेपालभरी गोदावरी क्षेत्रबाट सिक्ने वातावरण निर्माणका काम थाल्नु पर्दछ ।’
गोदावरी नगरपालिका र फुलचोकी एकीकृत विकास आयोजनाद्धारा आयोजित ‘गोदावरी क्षेत्रको महत्व र आवश्यकता’ विषयक विचार गोष्ठीमा मन्त्री पासवानले गोदावरी क्षेत्रमा आउजाउ गर्ने साइकल पथ वा वातावरण पथ बनाउन आग्रह गरे । उनले यसका लागि गोदावरी क्षेत्रलाई धुँवारहित क्षेत्र बनाउन आवश्यक रहेको बताए । साथै, मन्त्री पासवानले गोदावरीको पर्यावरण बचाउन सुक्दै गरेका रुखबारे अनुसन्धान गर्न र नयाँ जातको रुख विश्वभरीबाट ल्याउने बारे पहल गर्न पनि सुझाव दिए ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जलस्रोतको धनी देशमा पानी खान हाहाकार हुन लागेको सन्दर्भ उल्लेख गर्दै हिमनदी सुक्नु, हिमाल नाङ्गिदै जानु आन्तरिकभन्दा बाह्य समस्या रहेको बताए । गोदावरीको मार्वल झिक्न रोक्दा वातावण जोगियो तर राजस्व गुमेकाले यसबारे सोच्न जरुरी भएको तर्क गर्दै उनले यहाँको विकासका लागि सरकार र साझेदारी निकाय जोडिए मात्र सम्भव हुने बताए ।
रेडियो पर्यावरण चक्रका अध्यक्ष डा अष्टमान किसी महर्जनले उपत्यकाको तीन जलाधार मध्ये गोदावरी क्षेत्र सुनको कचौरा भएको र यसलाई सुनको थाल बनाउन लाग्नपर्नेमा जोड दिए ।  वातावरण विज्ञ महर्जनले जैविक विविधताको शत्रु सल्लो लगाउन रोकिनुपर्ने दावी पनि गरे । मानवअधिकारकर्मी बद्री शिवाकोटीले गोदावरी खोलाको बारेमा सोच्नपर्ने बेला आएको ध्यानाकर्षण गराए ।