प्रधानमन्त्री ओली चिनियाँ भेटघाटमा व्यस्त

चैत ८, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खछयाङसँग शिष्टाचार भेटवार्ता गर्दै छन्।

चिनियाँ प्रधानमन्त्री लीको निमन्त्रणामा ८ दिने औपचारिक चीन भ्रमणका लागि आइतवार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले सोमवार चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन्। समकक्षी लीसँगको भेटवार्तापछि दुई देशवीच  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने छ।

प्रधानमन्त्री ओली आजै चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा सरिक हुने छन्। त्यसपछि उनी प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चैत ९ मा चीनका लागि नेपाली राजदूत डा महेश मास्केले बेइिजिङस्थित नेपाली दूतावासले गर्ने स्वागत भोजमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डल सरिक हुनेछ।

प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ।