कसरी गाउँसम्म पुग्दै छ पुनर्निर्माण प्राधिकरण?

चैत ८, काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो सेवालाई गाउँस्तरसम्म पुर्याउन उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थापनाको गृहकार्य थालेको छ। केन्द्रमा कर्मचारी व्यवस्थापनमा समस्या झेलिरहेको प्राधिकरणले उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थापनाको गृहकार्य थालेको हो।
यद्यपि उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्र स्थापना गर्न भने प्राधिकरणलाई निकै समय लाग्ने देखिएको छ। भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको प्राधिकरणको कामकारबाही चुस्त देखिन सकेको छैन।

प्राधिकरणलाई ६५ अर्ब निकासा

सरकारले प्राधिकरणलाई ६५ अर्ब रकम निकासा गरिसकेको छ। प्राधिकरणका लागि सरकारले विभिन्न श्रेणीका गरी २ सय ८ जना कर्मचारी पठाउने निर्णय गरे पनि हालसम्म ९१ जना मात्रै पठाएको छ। प्राधिकरणका लागि आवश्यक जनशक्ति पठाउने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयले पाएको छ।

सात स्थानमा उपक्षेत्रीय कार्यालय

प्राधिकरणका प्रवक्ता सहसचिव सुरेश अधिकारीले केन्द्रमा जनशक्ति व्यवस्थापन समस्याका बाबजुद उपक्षेत्रीय कार्यालय र स्रोतकेन्द्रहरू स्थापनाको गृहकार्य थालेको जानकारी दिए। प्राधिकरणका अनुसार अब भूकम्प अत्यधिक प्रभावित जिल्लालाई समेट्ने गरी विभिन्न सातवटा स्थानमा सहसचिवको नेतृत्वमा उपक्षेत्रीय कार्यालय स्थापना गरिने भएको छ।

पहिलो चरणमा दोलखा, रामेछाप र ओखलढुंगालाई समेट्ने गरी दोलखामा उपक्षेत्रीय कार्यालय स्थापना भइसकेको छ। यसैगरी, काभ्रे, नुवाकोट, गोरखा, काठमाडौं, ललितपुरमा पनि उपक्षेत्रीय कार्यालय स्थापना गरेर पुनर्निर्माण कार्यलाई अघि बढाइने प्रवक्ता अधिकारीले बताए। प्रत्येक उपक्षेत्रीय कार्यालयमा सहसचिवको नेतृत्वमा १३ जना कर्मचारी राखिने छ। (नयाँ पत्रिका दैनिकबाट)