आफ्नो एनजिओलाई कार्यक्रम नपारिदिएको झोकमा एमाले नेताले सूचना अधिकारी कुटे

चैत ८, सल्यान –आफ्नो एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा सल्यानमा एमालेका एकजना  नेताले जिल्ला विकास समिति सल्यानका सूचना अधिकारीमाथि हातपात गरेका छन्।

आइतबार दिउँसो जिल्ला विकास समिति सल्यानमा स्थानीय विकास अधिकारीकै कार्यकक्षमा उनलाई हातपात गरिएको  हो। एमाले सल्यानका पूर्व जिल्लाअध्यक्ष लोकबहादुर डाँगीले सूचना अधिकारी पूर्ण वलीमाथि लात्ती हानेका थिए।

घाइते भएर जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेका सूचना अधिकारी वलीले छलफल भइरहेका बेला डाँगीले लात्तीले कोखामा हानेको बताए।

डाँगी र उनकी पत्नी मिलेर सल्यानमा पोष्ट नेपाल भन्ने संस्था चलाएका छन्। सल्यानलाई खुल्ला दिसामुक्त गर्ने अभियानका क्रममा जिल्ला विकास समितिले जिल्लामा कार्यरत ४ वटा गैरसरकारी संस्थालाई छनोट गरेका थियो। त्यसमा आफ्नो संस्थालाई किन नपारेको भन्दै डाँगी जिविसमा पुगेका थिए।(अन्नपूर्ण पोस्ट दैनिकबाट)