‘मलाई भ्रमण दलमा किन राखिएन मलाई होईन प्रधानमन्त्रीलाई सोध्नुस’ ः आपूर्तिमन्त्री पुन

चैत ७, काठमाडौं–आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग ईन्धन सम्झौता गरेर ईन्धनको ब्यापार विविधिकरण हुने निश्चित भएको दावी गरेका छन ।
एक साक्षात्कारमा उनले भने,‘ चीनसँग ईन्धन सम्झौता हुन्छ । ईन्धन आपूर्ति गर्ने विषयमा एमओयू भईसकेको छ । दुई देशका आयल निगमवीच पनि धेरै कुरा भईसकेकोले सम्झौता हुनेमा म ढुक्छु । सम्झौता जति बेला पनि हुन सक्छ । मलाई विश्वास छ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला सम्झौता हुन सक्छ  नभए त्यसपछि तुरुन्तै हुन्छ ।’
मन्त्री पुनले प्रधानमन्त्रीको भ्रमणको बेला सम्झौता भएन भने फेरि हुँदैन भन्ने नसोच्न आग्रह गरे ।
प्रधानमन्त्रीको चीन भ्रमण दलमा आफू नपरेकोले सम्झौता नहुने हो कि भन्ने जिज्ञासामा उनले आफू भ्रमणमा जाँदा वा नजादा सम्झौतालाई कुनै फरक नपर्ने भन्दै प्रधानमन्त्रीको भ्रमण टोलीमा परेको नपरेको कारणको विषयमा आफूलाई भन्दा पनि प्रधानमन्त्रीलाई सोध्न आग्रह गरे । मन्त्री पुनले भने,‘ यो भ्रमण प्रधानमन्त्रीको हो त्यसैले यसमा म पर्ने कि नपर्ने भन्ने कुरा मलाई भन्दा प्रधानमन्त्रीलाई सोध्दा राम्रो हुन्छ । सम्झौता गर्न म जाँदा वा नजादा फरक पर्दैन । सम्झौता गर्ने तयारी अन्तिम चरणमा छ अहिले नभए जतिबेला पनि हुनसक्छ । यसमा ढुक्क हुनुस ।’
मन्त्री पुनले चीनबाट ईन्धन ल्याउँदा अन्तर्राष्ट्रिय मुल्य नै पर्ने भन्दै स्थानीय कर र ढुवानीमा अनुदान लिने गरी ब्यवस्था हुने जानकारी दिए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र ब्यापार, रोड कनेक्टीभटी र ईन्धन लगायतका सम्झौता हुने बताए ।
मन्त्री पुनले ५–६ महिनादेखि रोकिएको विकास निर्माणको कामले तिब्रता पाएको, बजेट कार्यान्वयनको अन्तिम समय आएकोले त्यसको चाप, बन्द उद्योग २४ सै घण्टा सुचारु गर्नु पर्ने लगायतको कामले गर्दा डिजलसहज हुन नसकेको भन्दै एक दुई महिनाभित्रै भारतबाट आपूर्ति बढाएर सहज  पारिने बताए ।
उनले. भने,‘ अहिले ८९ हजार ६ सय केल डिजेल आएको छ । हामीले १५० केएल माग गर्दै छौ त्यसपछि सहज हुन्छ । ग्यास पनि ३३ हजार मेट्रिक टन माग गरेकोमा २१ हजार मात्रै आयो अब बढी माग गरे सबै उपाय अपनाएर एक दुई महिनामा आपूर्ति सहज बनाउँछौ ।’
मन्त्रीपुनले अहिले मुलुकमा पेट्रोलियम पदार्थको भण्डारन ७१ हजार केलमात्र रहेको र यसले १५ दिनकोलागि मात्रै पुग्ने भन्दै नयाँ निर्माण र पुरानाको क्षमता विस्तार गरेर ९० दिनको भण्डारनको ब्यवस्था गर्न लागेको जानकारी दिए ।
यसकोलगि पाँचखाल, बट्टार र खैरेनीटरामा जग्गा प्राप्तीको प्रतिवेदन आईसकेको, सबै प्रदेशमा भण्डारनको ब्यवस्था गर्न अध्ययन भईसकेको, मध्य पहाडी क्षेत्रमा भण्डारन गर्न अध्ययन टोली बनाउने तयारी भईरहेको  र ग्यासको स्टोरेज बनाउन पाँचखालमा प्रक्रिया सुरु भईसकेको उनले जानकारी दिए ।