क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुले बसमाथि कारबाही सुरु

चैत ४, काठमाडौं – आफ्नो बसको क्षमताभन्दा बढी विद्यार्थी बोक्ने काठमाडौंका स्कुल तथा कलेजका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ ।

सो क्रममा बुधबार आदर्श विद्या सदन बोर्डिङको बा २ ख ५६९ नम्बरको विद्यार्थी बोक्ने गाडी पक्राउ गरिएको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेंथुले जानकारी दिए ।

‘१६ जनाको सिट क्षमतामा ३४ जना विद्यार्थी राखेको भेटिएपछि कारबाही थालेका हौं,’ उनले भने। गर्मी मौसम सुरू भएको तथा बाटोमा खाल्डाखुल्डी भएको अवस्थाले दुर्घटना हुनसक्ने भएकाले स्कुल बसमाथि निगरानी थालेको प्रहरीले जनाएको छ।
दुई वटा गाडी पठाउनु पर्नेमा एउटै गाडीबाट काम चलाइराखेको अवस्थाले जोखिम बढाएकाले त्यस्ता गाडीको खोजी थालिएको हाछेंथुले बताए। क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गाडीलाई पाँच सय रुपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिने व्यवस्था छ।