निजीक्षेत्रमा पनि अनिवार्य निवृत्तिभरण

–यादव ओझा
काठमाडौं – सरकारी कर्मचारीले जस्तै निजीक्षेत्रमा कार्यरत कर्मचारीले समेत अनिवार्य निवृत्तिभरण पाउने व्यवस्था लागू हुने भएको छ । कर्मचारी सञ्चय कोषको पहलमा निजीक्षेत्रका कर्मचारीका लागि पनि सञ्चय कोष र निवृत्तिभरण कोष निर्माण गरिने भएको हो । त्यस्तो निवृत्तिभरण पाउने व्यवस्था गर्न विद्यमान कर्मचारी सञ्चय कोष ऐन २०१९ अन्तर्गत नियमावली निर्माण गरिनेछ ।

सञ्चय कोषका प्रवक्ता शिवकुमार अर्यालका अनुसार नियमावली लागू भए निजीक्षेत्रका सबै कम्पनीले आफ्ना कर्मचारीका लागि निवृत्तिभरणको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने छ । ‘योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था नियमावलीमा हुनेछ । निजीक्षेत्रमा कार्यरत कर्मचारीले आफ्नो योगदानअनुसार निवृत्तिभरण तथा सञ्चय कोषअन्तर्गतको सुविधा पाउनेछन्,’ उनले भने । उनका अनुसार सोसम्बन्धी विधेयक संसद्मा दर्ता गर्न अर्थ मन्त्रालयमा पेश गरिसकिएको छ ।

विधेयकमा निजीक्षेत्रका कर्मचारीको सञ्चय कोष र निवृत्तिभरणका लागि छुट्टै कोष निर्माण गर्ने उल्लेख छ । कोषमा कम्पनी र कर्मचारीका तर्फबाट रकम सञ्चित गरिने प्रवक्ता अर्यालले बताए । ‘कम्पनीले कर्मचारीको नाममा सञ्चय कोषमा छुट्टै खाता खोलेर निवृत्तिभरणका लागि रकम जम्मा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ,’ उनले भने, ‘कर्मचारीको मासिक पारिश्रमिकबाट निश्चित रकम काटेर उक्त खातामा जम्मा गरिनेछ ।’ यस्तो व्यवस्था भएपछि सरकारी कर्मचारीले जस्तै निजीक्षेत्रका कर्मचारीले पनि निवृत्तिभरण तथा सञ्चय कोषको सुविधा पाउने उनले बताए ।

विधेयकमा निजीक्षेत्रमा कार्यरत कर्मचारीसँगै वैदेशिक रोजगारमा जाने कामदारका लागि समेत निवृत्तिभरण सुविधा उपलब्ध गराउने प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन ९आईएलओ०को प्राविधिक प्रतिवेदनका आधारमा विधेयक तयार गरिएको बताइएको छ । नियमावली लागू भए निजी तथा वैदेशिक रोजगार क्षेत्रमा सेवा अवधि पूरा गरेका कामदारले कोषमा गरेको योगदानको आधारमा मासिक रूपमा निवृत्तिभरण पाउनेछन् । यस्तै, सञ्चय कोषअन्तर्गतको सुविधामा सेवा अवधिभर जम्मा भएको रकम र त्यसको ब्याज कामदारले एकमुष्ट पाउने विधेयकमा व्यवस्था गरिएको छ ।

कामदारले निवृत्तिभरण र सञ्चय कोषसम्बन्धी छुट्टाछुट्टै सुविधा प्राप्त गर्न सकिने प्रावधान विधेयकमा रहेका छन् ।

निजीक्षेत्रमा कार्यरत कर्मचारीले निवृत्तिभरण पाउने विषय राम्रो भए पनि त्यस विषयमा आफूहरूसँग कुनै सल्लाह नभएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘विषय त राम्रो हो तर, प्रावधानहरू के के हुने भन्ने हामीलाई कुनै जानकारी छैन,’ उनले भने । निजीक्षेत्रका केही कम्पनीले अहिले पनि सेवा अवधि पूरा गरेका आप्mना कर्मचारीलाई निवृत्तिभरण उपलब्ध गराइरहेको उनले बताए ।

हाल निजीक्षेत्रमा करीब २० लाख कामदार छन् । यस्तै ३० लाख नेपाली वैदेशिक रोजगारअन्तर्गत विभिन्न देशमा कार्यरत छन् । निजीक्षेत्रका कर्मचारी र वैदेशिक रोजगारमा गएकाहरूका लागि सञ्चय कोष र निवृत्तिभरणसम्बन्धी व्यवस्था भए कर्मचारी सञ्चयकोषमा दीर्घकालीन पूँजी सङ्कलन हुने देखिन्छ । उक्त पूँजी दीर्घकालसम्म नै पूर्वाधार विकासमा लगानी गर्न सकिने सञ्चय कोषका प्रवक्ता अर्यालले बताए ।