चीनसँग ब्यापार, पारवहनलगायतका सम्झौता हुन्छः मन्त्री पाण्डे

चैत ४, काठमाडौं– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन आपूर्ति, टे«डमार्क र पेट्रोलियम अन्वेषणसम्बन्धी सम्झौता हुने बताएका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकोले त्यस विषयमा सम्झौता हुने भन्दै ब्यापारलाई सहजीकरण गर्न ट्रेडमार्क सम्झौता हुने निश्चित जस्तै भएको बताए ।
यसका अतिरिक्त पोखरा एयरपोर्ट निर्माणमा सहयोग गर्ने , हिल्सा पुल निर्माण सहित विभिन्न विकास निर्माणको विषयमा सम्झौता हुने जानकारी दिदै आर्थिक विकासको विषयमा एमओयू हुने बताए ।
प्रधानमन्त्रीको नियमित चीन भ्रमण भएकोले सम्बन्ध सुदृढीकरण र सहयोगलाई प्रगाढ बनाउने गरी भ्रमण हुन लागेको भन्दै चैत ५ गते बैठक बसेर भ्रमणको एजेण्डालाई अन्तिम रुप दिने बताए ।
मन्त्री पाण्डेले संविधान निर्माणपछि मुलुक आर्थिक विकासको चरणमा अघि बढीसकेको भन्दै त्यसै अन्र्तगत नेपाली कच्चा पदार्थको उपयोग गर्ने उद्योग स्थापनकोलागि झापाको दमक, हेटौडाको मयूरधाप, रुपन्देहीको मोतिपुर, बाँकेको नौबस्ता, कन्चनपुरको देरीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भइसकेको बताउँदै सर्लाही र कास्कीमा पनि त्यसको अध्ययन भईरहेको जानकारी दिए ।
उनले दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालमा आएर पाँच वर्ष भित्र १० लाखले प्रत्यक्ष र २० लाखले अप्रत्यक्ष रोजगारी पाउने दावी गर्दै औद्योगिक क्षेत्र जस्तै ईस्पेसल ईकोनोमिक जोन सेज निर्माणको काम पनि अघि बढेको बताए ।
मन्त्री पाण्डेले विदेशमा ७५ प्रतिसत उत्पादित बस्तु निर्यात गर्ने उद्योगहरुकोलागि १३ ठाँउमा सेज निर्माण गरिने जानकारी दिदै भैरहवामा सञ्चालनको तयारी भईरहेको र अमेरिकामा भन्सार सुविधामा गार्मेन्ट सामान पठाउने उद्योग स्थापनकोलागि विरगंजको सीमरामा पनि सेज निर्माण गरिने बताए ।