राष्ट्रकवि घिमिरे र साहित्यकार राईलाई महाविद्यावारिधि प्रदान

चैत २, काठमाडौं–त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले राष्ट्रकवि माधव घिमिरे र साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित विशेष दीक्षान्त समारोहमा सोमबार उक्त उपाधि प्रदान गरेका हुन् ।

त्रिवि स्थापनाको ५६ वर्षमा यसअघि ११ जना स्वदेशी तथा विदेशी विद्वानलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको उपकुलपति प्राध्यापक तीर्थराज खनियाले जनाए । यसअघि उपाधिप्राप्त गर्नेहरुमा सर्वपल्ली राधाकृष्णण, पारसमणि प्रधान, लिलि टर्नर, डा। रोबर्ट एल, धरणिधर कोइराला, अमादु माथर, दाइसाकु इकेदा, यदुनाथ खनाल, केआर नारायण, नयराज पन्त र नाफिस फदिक छन् ।

उपाधिप्राप्त राष्ट्रकवि घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएर नेपाली साहित्यमा उच्च साधना गरेका छन् । उनको १९९४ मा पहिलो कविता कृति ‘नवमञ्जरी’ प्रकाशित भएको थियो । त्यसयता चार कवितासंग्रह, एक गीतिसंग्रह, चार बालकविता संग्रह, आठ खण्डकाव्य, सात गीति नाटक, एक कथा संग्रह, दुई निबन्ध संग्रह कृति प्रकाशित छन् । उनको ‘गौरी’ खण्डकाव्य, ‘मालती मंगले’ नाटकलगायत सर्वाधिक लोकप्रिक कृति हुन् । ‘पूर्ववर्ती कविहरुको कविता पढेर आफ्नै भावशैलीमा रचना गर्न सिक्दै रहें,’ उपाधि ग्रहण गर्दै राष्ट्रकवि घिमिरेले भने, ‘कविता भन्नु जगतलाई सुन्दर बनाउने रचना हो । अहिले पनि महाकाव्य रचना गर्दैछु । राज्यले यसरी नै लोककल्याणकारी साहित्य सिर्जन गर्ने वातावरण प्रदान गर्नेमा विश्वस्त छु ।’ नेपाली साहित्य संमृद्धि जरुरी रहेको र त्यसनिम्ति विज्ञान र प्रविधिको विकाससित जोड्न आजको चुनौत िरहेको नेपालमा रहेर विश्वभावनाबाट ओतप्रोत साहित्य सिर्जनाको खाँचो रहेको घिमिरेले उल्लेख गरे ।

त्यसैगरी १९८४ माघ १७ मा खरसाङको बालासन खोला बगरमा जन्मिएका इन्द्रबहादुर राई भारतको संविधानको नेपाली भाषालाई सूचिकृत गराउने एक अभियनता तथा चर्चित साहित्यकार हुन् । उनी नेपाली साहित्यको तेस्रो आयाम र लीलालेखनका प्रवर्तकमध्येका अगुवा हुन् । उनका ‘विपना कतिपय’ कथासंग्रह, ‘आज रमिता छ’ उपन्यास, ‘कठपुतीको मन’लगायत दर्जनभन्दा बढी सिर्जना कृति प्रकाशित छन् । उनले ‘नेपाली उपन्यासका आधारहरू’ कृतिमार्फत साहित्य समालोचनामा अस्तित्व कायम गराएका छन् । राईकी पत्नी मायादेवीको शारीरिक अस्वस्थताका कारण उपाधि ग्रहण गर्न उपस्थित हुन नसकेको र निकट समयमा उपाधि थमाउने उपकुलपति खनियाँले जनाएका छन् ।