राष्ट्र हित र छिमेकीको चासो बुझेर चीनसँग सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव

चैत २, काठमाडौं– परराष्ट्र विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामि चैत्र ७ बाट सुरु हुने चीन भ्रमणमा राष्ट्र हित र छिमेकीको चासो बुझेर सम्झौता गर्नु पर्ने धारणा राखेका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य डा प्रकाश शरण महतले दुई देशको मतभेदमा खेल्ने दिन सकिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा एक अर्कालाई असर नपर्ने गरी संम्झौता गर्न नहुने सुझाव दिए ।

उनले नेपालले स्थिरता कायम नगरेसम्म छिमेकबाट फाईदा लिन नसक्ने भएकोले प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपालमा संविधान निर्माण भएर स्थायीत्व कायम भएको विषयमा आश्वास्त पार्न सक्नु पर्नेमा जोड दिए ।
डा महतले चीनसँग पूर्वाधार विकास, कनेक्टीभटी बढाउने, माग्ने भन्दा पनि ब्यापार बढाउने, निर्यातमा शुन्य भन्सारको ब्यवस्था कायम गर्ने  र आफ्नो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाउनु पर्ने बताए ।
एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुनः अनन्तले छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध राष्ट्रिय हितमा हुने भन्दै राष्ट्र हितलाई ध्यानमा राखेर प्रधानमन्त्रीले चीन भ्रमणमा सन्धी सम्झौताहरु गर्नु पर्ने बताए ।
उनले संविधान कार्यान्वयनमा छिमेकीको सद्भाव प्राप्त गर्ने, पुनःनिर्माणमा सहयोग जुटाउने, आर्थिक विकासकोलागि चीनीया लगानी भित्राउने काम मात्रै गरे पनि प्रधानमन्त्रीको भ्रमण सफल हुने धारणा राख्दै पारवहन सन्धी, पहिला नै सम्झौता भएको तातोपानी, हिल्सा, कोरल र केरुङ्ग नाकाको स्तरोन्नती गर्ने सम्झौता कार्यान्वयन, पोखरा एयर पोर्टको ऋण सम्झौता र रिङ रोड विस्तार लगायतको सम्झौता हुन सक्ने बताए ।
नेकपा एमालेका सभासद एवम विदेश मामिला जानकार डा राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट समेत भुपरिबेष्ठित नेपालले पारवहन अधिकार पाउने विषय, चीनबाट ईन्धन ल्याएर एकतर्फी निर्भरता हटाउन ईन्धन आपूर्ति सम्झौता हुने जानकारी दिदै यसका अतिरिक्त जलस्रोतको विकास र बजार खोज्ने, भारततर्फको ब्यापार निर्भरता घटाउन राष्ट्रीय हितकोलागि ब्यापार विविधिकरण गर्ने, चक्रपथ विस्तार, उत्तरदक्षिण हाईवे निर्माण, ईन्धन भण्डारण, कृषिको आधुनिकिकरण र पर्यटन विकासको विषयमा छलफल हुने बताए ।
उनले एउटा मुलुकसँग सम्बन्ध राख्दा अर्को मुलुक विरुद्ध हुन्छ भन्ने धारणाको अन्त्य गर्नु पर्ने भन्दै भ्रमणको क्रममा विशुद्ध नेपालको राष्ट्रिय हितको पक्षमा काम गर्नु पर्ने बताए ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले सहज रहेको सम्बन्धलाई अझै सहज बनाउने विश्वास ब्यक्त गर्दै नेपाल र चीनको सम्बन्धको कुरा गर्दा त्यसमा भारतको आँखाले हेर्न नहुने तर्क गरे ।
उनले भने,‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा चीनको लगानी ल्याउने अनि नेपालमा ल्याउन हुँदैन भन्नु हुँदैन । अब चीनको प्रविधि र हाम्रो प्राकृतिकस्रोत साधनको उपयोग गरेर भारत र बंगलादेशसमेतलाई उर्जा निर्यात गरेर क्षेत्रीय विकास गर्नु पर्छ । यसकोलागि त्रिपक्षीय सहकार्य आवश्यक छ ।’