ओली सरकार चुनावसम्मै ः उपप्रधानमन्त्री मैनाली

फागुन २५, काठमाडौं–उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले चुनावसम्मै केपी शर्मा ओली नेतृत्वको सरकार चल्ने दावी गरेका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारमा रहेका दलहरुहरु आफ्नो मान्यतामा कायम छन । त्यसैले यो सरकार चुनावसम्मै जान्छ । यो सरकार ढाल्ने खेलमा अहिले कोही पनि लाग्दैनन । यो गठबन्धनमा रहेका दलहरु ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छन । काग्रेसको नेतृत्वमा अहिले सरकार बन्न सक्दैन ।’

साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले केपी ओली नेतृत्वकै सरकारमा नेपाली कांग्रेस सहभागी भए राम्रो हुने र त्यसमा आफूहरुको समर्थन रहने स्पष्ट पार्दै अहिले नै अर्को सरकार बन्ने हिसाव किताब नदेखिएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा पेट्रोलियम पदार्थ कारोवार, ब्यापार तथा पारवहन, काठमाडौसम्म रेल सेवा विस्तार, विजुली आयात, पर्यटन र पुर्ननिर्माण सम्झौता हुने जानकारी दिदै भारत आफैले ३० प्रतिसत आयात कटौती गरेर त्यसको बाटो खोलिदिएको दावी गरे ।
उपप्रधानमन्त्री मैनाली नेपालले ब्यापारको लागि भारतको मात्रै बाटो खोज्नु भुल भएको नाकाबन्दीले चेत खुलाएको भन्दै अब नेपालले असंलग्नताको नीतिसहित चीनसहितका मुलुकसँग सम्बन्ध विस्तार गर्नु पर्ने आवश्यकता आएको बताए ।
उनले भने,‘ हामी एक मुलुक विरुद्ध अर्कोलाई उभ्याउने खेलमा लाग्दैनौ । हामी असंलग्नताकै नीतिमा जानु पर्छ ।’