शिवरात्रीका बेला पशुपतिमा आउने बाबा घटे

फागुन २४, काठमाडांै–पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ ।

भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन डराएकाले पशुपतिमा जोगीहरुको चहल पहल घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु शिवरात्रीमा पशुपति आउने गर्छन् । तर, यो वर्ष बाबाहरुको संख्या करिव दुई हजारले घट्ने संकेत देखिएको कोषको अनुमान छ । यो वर्ष करिव पाँच हजार बाबाहरु पशुपति दर्शनका लागि काठमाडौं आएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।  अघिल्लो वर्ष ७ हजारको हाराहारीमा बाबाहरु आएका थिए ।

‘पछिल्ला वर्षहरुमा बाबाहरुको उपस्थिति बढ्दै गइरहेको थियो’ टण्डनले भने ‘यो वर्ष भूकम्प र नाकाबन्दीले त्रासदी फैलिएपछि बाबाहरु आउन डराएको हामीले अनुमान गरेका छौं ।’

अघिल्लो शिवरात्रीमा करिव १० लाख भक्तजनले पशुपति दर्शन गरेकोमा यस वर्ष त्यो संख्या १२ लाख पुग्नुपर्नेमा ११ लाखमा सीमित हुने टण्डनको अनुमान छ ।

‘पशुपति आउने कुल भक्तजनमध्ये साढे ५ लाखले लाइन लागेर भित्र पसी शिवजीको दर्शन गर्छन् भने साढे ५ लाखले बाहिरबाट नै दर्शन गरी फर्किन्छन्’ टण्डनले भने( ‘पशुपतिको गोल्डेन गेटबाट भित्र पसेको ३० देखि ४५ मिनेटभित्र दर्शन गरेर फर्किन सक्ने व्यवस्था मिलाएका छौं ।’

दर्शनका लागि ४ वटा मूख्य लाइन र २ वटा सहायक लाइनको व्यवस्था गरिएको छ । उत्तर, पूर्व र दक्षिणमा मुख्य लाइन रहेका छन् । एक नम्बर र दुई नम्बर गेटमा सहायक लाइन रहेको छ ।

दुई नम्बर गेटको ‘क’ बाट सःशुल्क टिकटको व्यवस्था गरिएको छ । यहाँबाट एक हजारको टिकट काट्ने भक्तजन र कुटनीतिक नियोगका उच्च पदस्थ कर्मचारीलाई प्रवेशको सुविधा दिइएको छ ।