राष्ट्रिय कलाश्री सम्मान ‘वात्स्यायन’ लाई

काठमाडौं– नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्ष ‘राष्ट्रिय कलाश्री सम्मान’बाट कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई सम्मानित गरेको छ । प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी कार्टुनिस्ट वात्स्यायनसहित ‘नेपाल सम्मान’ बाट नेपाली भाषा सँस्कृतिका सम्बद्र्धनक प्राध्यापक ग्रेगारी जी.मस्कारिनेकलाई, रु एक लाखसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट नेपाली भाषासाहित्यका साधक ठाकुरप्रसाद गुरागाई, रु २० हजारसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट कवि एवम् निबन्धकार भीष्म उप्रती र रु २५ हजारसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पत्रकार फुलमान बललाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्व वात्स्यायनले आफूले कार्टुन चित्र सुरु गर्दाताकाको अनुभव सुनाउँदै यसैको माध्यमबाट समाजका अनेकन विसंगतिलाई केलाएको बताए । अर्का सम्मानित व्यक्तित्व प्राध्यापक ग्रेगोरीले नेपाली भाषा अत्यन्त सुन्दर भाषा भएको बताउँदै नेपाली भाषाको विस्तारका लागि आफू सधैँ प्रतिबद्ध रहने उल्लेख गरे । उनले नेपालका विभिन्न दुर्गम क्षेत्रमा पुगेर स्थानीय भाषा सँस्कृतिको अध्ययन गरिसकेका छन् ।