आफूले जितिसकेको देउवाको दावी

फागुन २४, काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तेह्रौं राष्ट्रिय महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूले चुनाव जितिसकेको बताएका छन् । अबको निर्वाचनमा निर्णायक मत दिन देउवाले कार्यकर्तालाई भनेका छन् ।

उनले दिउँसो हुने अर्को चुनावमा उही उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् । ट्वीटमा आफ्नो धारणा सार्वजनिक गर्दै देउवाले भनेका छन्, ‘तपाईंहरूले मलाई विजय गराइसक्नुभएको छ, म कृतज्ञता व्यक्त गर्दछु ।’ उनले गरेको पछिल्लो ट्वीटमा लेखिएको छ, ‘उही उत्साहका साथ अब निर्णायक मत दिनुहोस् ।’

विधानअनुसार ५१ प्रतिशत मत नपुगेपछि कांग्रेस सभापतिका लागि पुनः दोस्रो चरणको निर्वाचन सोमबार दिउँसो २ बजे हुँदैछ । उनले १५६४ मत ल्याएका थिए । ५१ प्रतिशत पुग्न उनलाई ११ मत नपुगेको थियो । पहिलो चरणको निर्वाचनबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि अब उप–सभापति रामचन्द्र पौडेल देउवाबीच हुँदैछ ।