कांग्रेसको विदेश नीतिः भारत र चीनका कारण नेपालको महत्व विश्वभर

फागुन २३, काठमाडौं– कांग्रेसको १३ औँ महाधिवेशनको बन्दसत्रबाट शनिवार पारित नीति तथा कार्यक्रममा छिमेकी मुलुक चीन र भारतका कारण पछिल्लो समय नेपालको महत्व विश्वभर बढ्दै गएको निष्कर्ष निकालिएको छ।
शक्तिशाली राष्ट्रको रुपमा यी दुई छिमेकी अघि बढ्न नेपालको महत्व थप बढेको भन्दै त्यसलाई प्रष्ट्याइएको छ। पञ्चशील, असंलग्नता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको मूल आधार मानेको कांग्रेसले पछिल्लो समय आफ्नो मुलुकको महत्त्व बढेको जस छिमेकीलाई दिएको हो।

मुलुकले अवलम्वन गर्ने परराष्ट्र सञ्चालनमा छिमेकबाट दुईपक्षीय सम्वन्ध आरम्भ हुने भनिरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो नीतिमा भनेको छ, ‘नेपालले दुई छिमेकी मित्रराष्ट्रहरुसँग धरातलिय भौगोलिक यथार्थलाई केन्द्र विन्दुमा राखेर आपसी सदभाव, विश्वास, सहयोग, समर्थन र सहकार्यको वातावरणलाई प्रगाढ बनाउँदै परिवर्तित सन्दर्भमा विद्यमान र उदीयमान पुनस् परिभाषित गर्दै गतिशिलता प्रदान गर्न आवश्यक छ।’

मुलुकको पुरानो  र विदेशीसँग धेरै सम्पर्क रहेको राजनीतिक दल हुनाले महाधिवेशनमा पारित हुने विदेश नीतिको सर्वत्र चासो रहने गर्छ। त्यही चासोको बीचमा पारित नीति तथा कार्यक्रममा भनिएको छ, ‘भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्म सम्बन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहनुपर्छ भन्ने नेपाली कांग्रेसको नीति रहनेछ। विश्व शान्ति, स्थिरता, समृद्धि नेपाली कांग्रेसको परराष्ट्र नीतिको महत्वपूर्ण आयाम रहनेछ।’(कान्तिपुर दैनिकबाट)