एक दिन वित्न नपाउँदै सुुजाताले फिर्ता लिइन उम्मेदवारी

फागुन, २० काठमाडौं-

कांग्रेस नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेको एक दिन वित्न नपाउँदै उम्मेदवारी फिर्ता लिएकी छिन्।

बुधबार आफ्नै निवास मण्डिकाटारमा सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र सशांक कोइरालालाई दायाँ बायाँ राखेर आफू सभापतिमा उठेर कार्यकर्तालाई निरास नबनाउने भन्दै उम्मेद्वारी फिर्ता लिएकी हुन्।

पत्रकार सम्मेलन गरी सभापतिमात्रै एकल उम्मेदवारी घोषणा गरेकी कोइरालाले कांग्रेस संस्थापन पक्षका उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।

‘मैले मेरो उम्मेद्वारी दिएर कार्यकर्तालाई चिन्तित पार्न चाहन्नँ। पार्टी संकटमा छ। रामचन्द्र जीसँग मेरो गम्भीर कुरा भयो। त्यसैले उहाँलाई समर्थन गर्दै मेरो उम्मेद्वारी फिर्ता गर्छु,’पत्रकार सम्मेलनमा कोइरालाले भनिन्।

‘गिरीजाबाबुले जहिले पनि भन्नु हुन्थ्यो अरूका कुरा सुन्नु दुःख नदिनु त्यसैले मैले अरूलाई दुःख दिन चाहिन। अब हामी एक भएर अगाडि बढ्छौ।’

आफू अब केन्द्रीय सदस्यमा चुनाव लड्ने भन्दै उनले सभापतिमा पौडेल निर्वाचित भएपछि उहाँले जुन स्थानमा दिनुहुन्छ त्यसैमा रमाउने बताइन्। ‘हामीमा कुनै विवाद छैन। पार्टीमा रामचन्द्र जी सभापतिमा विजयी भए उहाँले मलाई जुन स्थान दिनुहुन्छ म त्यसैमा रमाउँछु।’

कार्यक्रममा बोल्दै सभापतिका उम्मेद्वार रामचन्द्र पौडेलले कोइरालाको उम्मेद्वारी फिर्तालाई स्वागत गर्दै कृष्ण प्रसाद सिटौलालाई पनि उम्मेद्वारी फिर्ता गरेर आउन सुझाए।

‘अब सुजाता जी केन्द्रीय सदस्यमा उठ्नुहुन्छ। हामीले गिरीजाबाबुको छोरी भएकाले धेरै उहाँमा धेरै सम्भावना देखेका छौ। मैले गरेको कन्भिन्समा उहाँ सहमत हुनुभयो उहाँलाई उचित स्थान दिन्छौ,’ पौडेलले भने।

आफू २०१७ सालदेखि विचलन नभइ कांग्रेसमा लागेको सबैभन्दा पुरानो कार्यकर्ता भएकाले शेरबहादुर देउवालाई पनि सहयोग गर्न आग्रह गरे।

‘म १७ सालदेखि विचलित नभइ कांग्रेसको इमान्दार कार्यकर्ता हुँ। देउवा जीलाई पनि सहमतिमा आएर मलाई सहयोग गर्नुपर्छ,’ पौडेलले भने, उहाँलाई कहाँ स्थान दिनुपर्ने हो त्यसका लागि म तयार छु।’