महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः केसी

फागुन १९, काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मैले देउवाजीको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे । प्यानलको घोषणा औपचारिक रुपमा बुधवार हुन्छ । ’
उनले आफू प्रतिष्पर्धामा उत्रिसकेकोले जो विपक्षमा उम्मेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्दै भने,‘ मेरो ज्वाई गगन थापा वा शसांक कोइराला जो मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन यो अन्तिम निर्णय हो । अब पछि हट्ने र झुक्ने काम हुँदैन ।’ उनले थपे,‘ गगनजी जनप्रिय नेता हो, पार्टीको भविष्य हो । उहाँले यो विषयमा गंभिरतापूर्वक सोच्नु होला ।’
केसीले नेपाली काग्रेसमा व्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा आएको दावी गर्दै संस्थापन पक्षको नाममा सानो गिरोहले सिंगो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।
उनले आफू पार्टीलाई नेतामुखी, नातामुखी र दातामुखी भन्दा नीति मुखी बनाउनु पर्ने अभियानसहित अगाडि बढेको बताउँदै १८ वर्ष केन्द्रीय समितिमा संस्थापन पक्षबाट रहँदा समेत आफ्नो उचित मूल्याङ्कन नभएको गुनासो गरे ।
केसीले भने,‘१० औं महाधिवेशनमा ९ नवांै नम्बरमा विजयी भए, ११ औं मा पाचांै नम्बरमा, १२ औं मा दोस्रो नम्बरमा केन्द्रीय सदस्यमा विजयी भए, तीन वर्ष गिरिजाबाबुले मनोनयन गरेर केन्द्रीय सदस्य बनाउनुभयो । १८ वर्ष केन्द्रीय सदस्य हुँदा जम्मा १७ महिना मन्त्री भए । संस्थापन पक्षमा मेरो उचित मूल्याङकन भएन । ’
उनले आफू अझै पनि सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै दुई मध्ये एक नेता सभापति र अर्को नेता संसदीय दलको नेता बनेर बाँकी पदमा प्रतिष्पर्धा गर्नुपर्ने धारणा राखे । यसले पार्टीभित्रको धु्रविकरण कम गर्ने उनको विश्वास थियो ।
वरिष्ठ नेता केसीले पार्टीभित्रको सिण्डिकेट तोड्न, विधिविहीनतामा पार्टी चलाउने सस्कारको अन्त्य गर्न र झुण्डबाट नीति र सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गराउने पद्धतिको विकास गर्न आफ्नो उम्मेदवारी भएको समेत दावी गरे ।