कांग्रेसभित्र धर्म निरपेक्षताबारे महाधिवेशनमा छलफल गर्न माग

फागुन १९, काठमाडौं– कांग्रेसका केही नेताहरुले पार्टीको मूल नीति बनाउने सबैभन्दा उच्च निकाय महाधिवेशनमा भर्खरै जारी संविधानका मूख्य विषयमध्ये धर्म निरपेक्षतामा पुनः छलफल गर्नुपर्ने बताएका छन्।

उनीहरुले पार्टीभित्र एउटा समूहले धर्म निरपेक्षता हटाउन संविधानसभाभित्र र बाहिर पनि वकालत गर्दै आएको परिस्थितिमा त्यसको औपचारिक निर्णय महाधिवेशनबाट गर्नु पर्ने धारणा राख्न थालेका छन्। कांग्रेस पूर्वसहमहामन्त्री गोबिन्दराज जोशीले संविधानमा समेटिएका मूख्य विषयहरुमा महाधिवेशनमा छलफल हुनु पर्ने बताए।

‘संविधानमा समेतिएका प्रदेशहरुको सीमांकन, धर्म निरपेक्षता लगायतका विषयमा महाधिवेशनमा छलफल हुनुपछर्ट, जोशीले भने,‘तर महाधिवेशन नीतिभन्दा नेता छान्न थलो हुने भएकाले त्यो सम्भावना देखिँदैन।’

कांग्रेस नेता शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा परिआए पछाडि पनि फर्कन तयार हुनु पर्ने धारणा सार्वजनिक गरे लगत्तै कांग्रेसभित्र धर्म निरपेक्षता हटाउनु पर्ने विषयले प्रवेश पाउन थालेको छ। तर महाधिवेशनमा पार्टीले आगामी पाँच वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम र महामन्त्रीको प्रतिवेदनमा ती विषयले प्रवेश पाएका छैनन्।

कांग्रेस नेता खुमबहादुर खड्का, जोशी, लक्ष्मण  घिमिरे, तारानाथ रानाभाट लगायतको एउटा समूह धर्म निरपेक्षता हटाउन संविधान घोषणअघि महाअभियान सुरु गरेको थियो। तर उनीहरुको पार्टीको केन्द्रीय समितिमा आवाज चर्को हुन नसकेपछि ती विषयमा कांग्रेस टसमस भएको थिएन। (अन्नपूर्ण पोस्टबाट)