सर्वोच्चको आदेशविपरीत प्रचण्डलाई पनि विलासी गाडी

फागुन १८, काठमाडौं– सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विलाशी गाडी सुविधा दिएको छ।

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो। ‘उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पूर्व प्रधानमन्त्री प्रचण्डलाई हलुका सवारी चालकसहितको सवारी साधन एक र मासिक २ सय ३० लिटर पेट्रोल, मोबिल ५ लिटर (त्रैमासिक) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उपलब्ध गराउने’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

प्रचण्ड कानुनी मापदण्डबिना नै सरकारबाट गाडीलगायतको सुविधा पाउने नवौं भाग्यमानी नेता भएका छन्। यसअघिदेखि नै सरकारबाट विलाशी गाडीसहितको सुविधा पाइरहेकामा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंह छन्।( कान्तिपुर दैनिकबाट)