तारा एयरको जहाज दुर्घटना: शव बटुलेर आज पोखरा ल्याइने

फागुन, १३ काठमाडौं-


बुधवार विहान ८ बजे दुर्घटना भएको स्थलमा दिउँसो २ बजे पुगेका सुरक्षाकर्मीले साँझसम्म १९ वटा शव संकलन गरेका थिए । बाँकी शबका टुक्राटुक्री जम्मा गर्ने काम विहानैबाट सुरु भएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले जानकारी दिए ।

घटनास्थलमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राति सोहि स्थानमा वास बसेर विहानबाट पुन बाँकी शवको खोजी सुरु गरेका हुन् ।
एक जना नाबालक र महिलाको शब पहिचान गर्न सक्ने अवस्थामा भएपनि अन्यको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । केहिको शव आगोले जलेको अवस्थामा छ । यत्रतत्र छरिएको अवस्थामा रहेकाले शवको टुक्राहरु जम्मा गर्न समय लागेको त्यहाँ पुगेका सुरक्षाकर्मीले जानकारी गराएका छन् ।
विहिवार विहान मौसम निकै प्रतिकुल छ । पोखरा आसपाससहित घटनास्थलमा बाक्लो हुस्सु लाग्नुको साथै हिमपात भएको छ । घटनास्थलमा संकलन गरिएको शव हेलिकप्टर अवतरण हुने स्थानसम्म ल्याएर त्यहाँबाट पोखरा ल्याउने गरी तयारी भैरहेको छ ।

आज शव पोखरा ल्याएर आफन्तको जिम्मा लगाउने प्रशासनको तयारी छ । पहिचान नभएका शवहरु डिएनए परिक्षणको लागि काठमाडौं पठाईनेछ ।
जहाजमा चालक दलका तीन, दुई नावालक, दुई विदेशीसहित २३ जना सवार थिए ।

जहाजमा सवार सबैको ज्यान गएको हो । बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उडेको  9N-AHH कलसाईनको जहाज ८ बजे सम्पर्क विहिन भएको थियो । दिउँसो २ बजे मात्रै स्थानियवासी र सुरक्षाकर्मीको सक्रियतामा घटनास्थल पत्ता लागेको थियो ।