चितवनका ४ मेडिकलमा तालाबन्दी

फागुन, १३ चितवन-

औषधि व्यवस्था विभागले बुधबार चितवन भरतपुरका औषधी पसलहरुको अनुगमन गर्ने क्रममा चारवटा फार्मेसीमा तालाबन्दी गरेको छ ।

नारायणगढको पोखरा बसपार्कमा रहेको स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको पाएपछि ती फार्मेसी बन्द गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो ।

सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन गरेको छ । सो क्रममा पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन गरिएको थियो ।

मेडिकल कलेजको फर्मेसीका सम्बन्धमा विभिन्न गुनासा आएकाले आकस्मिक निरीक्षण गरिएको भएपनि हालका लागि भने त्यस्तो केही नभेटिएको उनले बताए । सो क्रममा प्रमाणपत्र नवीकरण नभएका र बिलमा मिति र ब्याच नम्बर उल्लेख नगर्नेलाई यथाशक्य छिटो ती कुरा समावेश गर्न निर्देशन दिइएको पनि उनले बताए ।

अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी  थिए ।