कांग्रेस संस्थापन पक्षमा एउटै उम्मेदवार बनाउन दबाब

फागुन १३, काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन पक्षबाट एउटै उम्मेदवार बनाउन दबाब पर्न थालेको छ।

सभापति सुशील कोइरालाको निधनसँगै संस्थापन पक्षकै आधा दर्जन नेता सभापति प्रत्याशी बन्ने बताउन थालेपछि पूर्व जिल्ला सभापतिले दबाब बढाएका हुन्।

संस्थापन पक्षबाट नै कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला,शशांक कोइराला र सुजाता कोइरालाले सभापति प्रत्याशीका रुपमा सक्रियता बढाएपछि पूर्व जिल्ला सभापतिहरु एउटै उम्मेदवार बनाउन लागिपरेका हुन्।

काठमाडौंमा उपलब्ध पूर्वसभापतिहरु शिव हुमागाईं, रामनाथ अधिकारी, भीमसेनदास प्रधान, तप्तबहादुर विष्ट, प्रकाश शर्मा पौडेल, रामचन्द्र खड्का, ताराबहादुर कोइराला, टेकबहादुर गुरुङसहित नेता सक्रिय छन्।

वरिष्ठ नेता शेरबहादुर देउवा सभापति प्रत्याशीका रुपमा प्रस्तुत हुँदासमेत संस्थापन पक्षबाट साझा उम्मेदवार बनाउने पहल नभएको भन्दै उनीहरुले बुधबार बिपीपुत्र शशांकलाई भेटेर सहमति प्रयास गर्न आग्रह गरे।

नेतृत्वले क्षमता पदले भन्दा अप्ठेरोमा लिने निर्णयले देखाउने भन्दै उनीहरुले साझा उम्मेदवारका लागि पहल गर्न आग्रह गरेका छन्। (नागरिक दैनिकबाट)