मुटु अस्पतालमा क्याथल्याव संचालन हुने

फागुन १०, बुटवल– गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले क्याथल्याव खरिदको प्रक्रिया सुरु गरेको छ ।

यससँगै बिरामीहरुका लागि मुटुको एन्जीयोग्राम र एन्जीयोप्लाष्ट गर्न बुटवल बाहिर जानुपर्ने बाध्यता भने अन्त्य हुने भएको छ।

दुई वर्षअघि मुटु, छाती तथा मृगौलाको उपचार सुरु गरेको अस्पतालले अबको ४ महिना भित्र क्याथल्याब संचालन गर्ने गरि प्रक्रिया अघि बढाएको छ । क्याथल्याव खरिदका लागी अस्पतालको तर्फबाट संस्थाका अध्यक्ष एजाज आलम र सिमेन्स कम्पनीको नेपालका लागी अधिकृत बिक्रेता इस्ट वेस्ट कन्सर्नका प्रबन्ध निर्देशक शेर श्रेष्ठले शनिबार सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन्।

फागुन ६ गते बसेको संचालक समितिको बैठकले सिमेन्स कम्पनीको आरटीक वन मोडलको क्याथल्याब खरिद गर्ने निर्णय गरे बमोजिम क्याथ ल्याब खरिदको प्रकृया अगाडी बढाइएको अध्यक्ष आलमले बताए।

यसअघि काठमाण्डौ, धुलिखेल, बिराटनगर, धरान, पोखरा र नारायणगढमा क्याथल्याब संचालनमा रहे पनि पश्चिम क्षेत्रमा यो सुविधा अहिलेसम्म उपलब्ध छैन। करिब ६ करोडको लागतमा सम्पन्न हुने उक्त आयोजनामा ३ करोड अस्पतालको लगानी र ३ करोड रुपैयाँ रोटरी फाउन्डेसनले सहयोग गर्ने अस्पतालले जनाएको छ।