भारतपछि चीन भ्रमणमा जान्छु

फागुन ४,काठमाडौं– प्रधानमन्त्री केपी ओलीले भारतबाट फर्केलगत्तै आफू चीन र अन्य मुलुकको भ्रमणमा जाने बताएका छन्। प्रधानमन्त्रीले आगामी शुक्रबार भारत जाने र त्यहाँबाट फर्केको केही सातापछि चीन भ्रमण गर्ने तयारी रहेको बताए।

एसियाली राजनीतिक पार्टीहरूको संस्था आइक्यापद्वारा नेपालको राजनीतिक संक्रमणबारे सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा ओलीले भने,‘दुई छिमेकीसँगको सम्बन्ध असल बनाएर मात्र मुलुकको विकास र हितमा उपयोग गर्न सकिन्छ। यसमा मैले ध्यानपूर्वक काम गरिरहेको छु ।’

प्रधानमन्त्रीले नेपालको संक्रमणकाल अन्त्य हुँदै गएको बताए । लामो राजनीतिक द्वन्द्व, त्यसपछिको शक्ति संघर्ष र संविधान जारीपछि सीमा अवरोधका कारण नेपालीमा परेको असर अब अन्त्य हुँदै गएको उनको दाबी छ।( कान्तिपुर दैनिकबाट)