सन्दर्भ विश्व रेडियो दिवस ःविपद् सामुदायिक रेडियोको भूमिका प्रशंसनीय संचारमन्त्री राई

फागुन २, काठमाडौं—सूचना तथा संचारमन्त्री शेरधन राईले नयाँ बन्ने संचार नीतिले सामुदायिक रेडियोहरुलाई उचित पहिचान दिने बताएका छन् ।
पाँचौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले राजधानीमा गरेको कार्यक्रममा मन्त्री राईले संचार नीति पुनरावलोकन गर्न समिति बनाइएकाले त्यसले अब सामुदायिक रेडियोको योगदानको मुल्यांकन गर्ने बताए ।
अकोराबले राखेका मागमा सरकार गंम्भीर रहेको भन्दै मन्त्री राईले बैशाख १२ को भूकम्पको सामना गर्न सामुदायिक रेडियोले नागरिकलाई आवश्यक सूचना प्रवाह गरेर प्रशंसनीय काम गरेको बताए ।
मन्त्री राईले नयाँ संविधान जारी गर्नुअघि र पछिका चुनौतिको सामना गर्न पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
पछिल्लो समयमा तराई मधेसका क्षेत्रमा सञ्चालित केही रेडियोहरुले आचारसंहिता विपरित प्रसारण गरेको जानकारी पाएको उल्लेख गर्दै मन्त्री राईले आचारसंहिताको पालना नभएको अवस्थामा सरकार चुपचाप बस्न नसक्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ निर्माणको सपनाका साथ सरकार अघि बढेको जानकारी दिंदैे भकम्प प्रभावित क्षेत्रका जनताको संलग्नतामा नै पुनर्निर्माणको काम हुने बताए ।
सरकारले वित्तिय सहयोग गर्ने र स्थानीय जनताले नै नवनिर्माणमा अग्रसरता लिनुपर्ने धारणा राख्दै पुनर्निर्माणमा पनि सामुदायिक रेडियोहरुले सही सूचना सम्पे्रषण गर्नुपर्ने उनले बताए ।
सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) का सहअध्यक्ष मीनबहादुर शाहीले बैशाख १२ को भूकम्पपछि सामुदायिक रेडियोले सराहनीय काम गरेको बताए ।
सहअध्यक्ष शाहीले पुनर्निर्माण अभियानमा पनि रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै बिपद्पछिको अवस्थामा पनि रेडियोहरुले सही सूचना सम्प्रेषणमा ध्यान दिनुपर्ने बताए ।
पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले नागरिक पत्रकारिताको अभ्यास रेडियोहरुले गरेकोभन्दै उद्धार तथा राहत वितरणमा पनि सामुदायिक रेडियोले प्रशंसनीय काम गरेको बताए ।
युनेस्कोका प्रतिनिधि जेवी विश्वकर्माले सूचनाको हक प्राप्तिका लागि नेपालका सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको र राज्यलाई उत्तरदायी बनाउन पनि सामुदायिक रेडियोको भूमिका धेरै हुने धारणा राखे ।