अन्तरलिंगी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला शुरु

माघ २५, काठमाडौं– नेपालमा रहेका अन्तरलिंगी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला शुरु भएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका लागि काम गर्दै आएको नील हिरा समाजले पहिलो पटक अन्तरलिंगी व्यक्तिको राष्ट्रिय कार्यशाला गरेको हो ।
कार्यशालामा समाजकी अध्यक्ष पिंकी गुरुङले अन्तरलिंगीको मुद्धा राष्ट्रिय स्तरमा उठोस र भावी योजना बनोस भनेर पहिलो पटक अन्तरलिंगीको बिषयमा राष्ट्रिय कार्यशाला गरेको जानकारी दिइन । अन्तरलिंगीका समस्या के कस्ता छन् ? कस्ता कार्यक्रमको आबश्यकता छ ? अध्यक्ष गुरुङले भनिन्, कार्यशालाबाट दस्तावेजको रुपमा तयार भए कार्यक्रम बनाउन मार्गदर्शन हुनेछ । उनले सकृय रुपमा कार्यशालामा सहभागी भएर सिकेका कुरा बुझाउँदै सबै अन्तरलिंगीलाई एकजुट गराउने काममा लाग्न सुझाव दिइन । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले अन्तरलिंगी समूदायका व्यक्तिहरुले आफ्ना मुद्धा खुलेर भन्न सक्नु पर्ने वताइन । अन्तरलिंगी व्यक्तिका समस्याबारे एकले अर्कोलाई खुलस्त भन्नुपर्ने र बाहिर आएका मुद्धाका आधारमा थप कार्यक्रम तयार गर्न सकिने ढकालको भनाई छ । नील हिरा समाज अन्तरलिंगी समूदायको मुद्धामा सहयोग जुटाउन तयार छ ढकालले भनिन्, त्यसका लागि अन्तरलिंगी व्यक्तिका मुद्धाहरु बाहिर आउनु पर्छ । समाजका उप निर्देशक परसुराम राईले परिवार, समाज र राज्यबाट विभेदमा परेका अन्तरलिंगी व्यक्तिको मुद्धा समग्र यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय भित्रकै साझा मुद्धा भएको वताए । समाजको नर्वेजियन परियोजनामा कार्यरत इशान रेग्मीले अन्तरलिंगी व्यक्तिलाई परिवारले शल्यक्रिया गराउने र त्यसले यो समूदायका व्यक्तिमा शारीरिक समस्या आउने गरेको वताए । रेग्मीले संस्था स्थापना गर्दा पूर्व सभासद् एवं समाजका संस्थापक सुनिलबाबु पन्तले अन्तरलिंगी व्यक्तिलाई पनि सहभागी गराएकाले आज आएर राष्ट्रिय स्तरको कार्यशाला गर्न सफल भएको वताए । देशका विभिन्न ठाउँका अन्तरलिंगी व्यक्ति सहभागी कार्यशाला भोलीसम्म चल्नेछ । दुवै यौनाङ्ग लिएर जन्मेका र दुई एक अष्पष्ट भएका व्यक्तिलाई अन्तरलिंगी भनिन्छ ।