थ्रेसहोल्डको प्रस्तावप्रति साना दलको आपत्ति

माघ २५, काठमाडौं–राजनीतिक दलसम्बन्धी ऐन एकीकरण र संशोधन गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा उल्लिखित थ्रेसहोल्डको व्यवस्थाप्रति साना दलहरूले विरोध जनाएका छन्।

निर्वाचन आयोगले आयोजना गरेको मस्यौदामाथिको छलफलमा सहभागी साना दलहरूले निर्वाचनमा भाग लिने सबै दललाई राष्ट्रिय दलको मान्यता दिई संगठन सञ्चालन र निर्वाचनका लागि राज्यले निश्चित रकम दिनुपर्ने माग गरेका हुन्। विज्ञ सम्मिलित टोलीमार्फत आयोगले तयार गरेको मस्यौदामा भने आम निर्वाचनमा कम्तीमा डेढ प्रतिशत मत प्राप्त गर्ने दलहरूलाई राज्यकोषबाट रकम उपलब्ध गराउने व्यवस्था प्रस्तावित छ।

आयोगको छलफलमा सहभागी १ सय १३ मध्ये अधिकांशले थोरै मतको पनि मूल्य हुने उल्लेख गर्दै थ्रेसहोल्डको विरोध गरेका थिए। ठूला दलहरूले भने प्रस्तावित व्यवस्थाको समर्थन गरेका छन्।

‘हामीले थ्रेसहोल्डको प्रस्तावलाई सकारात्मक सुरुवातका रूपमा लिएका छौं,’ एमालेका तर्फबाट छलफलमा सहभागी अधिवक्ता बाबुराम दाहालले भने,‘डेढ प्रतिशतको थ्रेसहोल्ड बढी भयो, दस हजार मतको मात्रै थ्रेसहोल्ड राख्नुपर्छ र थ्रेसहोल्ड नै राख्नु हुन्न भन्ने सुझाव पनि आएका छन्।’

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै दलहरूलाई डाकेको छलफल ५ समूहमा भएको थियो।(कान्तिपुर दैनिकबाट)