‘छिमेकी फसाउन बलात्कार नाटक’

माघ २४, रौतहट– छिमेकीलाई फसाउन बलात्कारको झूटो उजुरी हाल्ने दम्पती आफैँ फन्दामा परेको छ। विश्रामपुर गाविसका डमरी महरा र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ।

गत माघ १८ गते राति १ बजे विश्रमपुरमा पाँच जनाको नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५ वर्षीय दलित महिलालाई बलात्कार गरेको खबर प्रहरीमा पुग्यो। १५ मिनेटभित्रै  प्रहरी टोली घटनास्थल पुगिहाल्यो। महिलाले आफूलार्इ पाँच जनाले घर नजिकैको परालको कुन्युमा लगेको, एक जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि सबै जना भागेको बयान दिइन्।

प्रहीले उनलार्इ राति नै चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लग्यो। त्यहाँ चिकित्सकले महिलामाथि बलात्कारको संकेत देखिएको पुष्टि गरे। महरापत्नीलार्इ महिला तथा बालबालिका सेवा केन्द्रमा राखेर काउन्सिलिङ थालियो। यसवीचमा उनले छिमेकी पाँच जनाको नाम किटानी गरिन् ।

प्रहरीले उनीहरुलार्इ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो तर उनीहरु अपराधी पुष्टि गर्ने कुनै प्रमाण फेला पर्न सकेन। अनुसन्धान बढाउँदै जाँदा आफूहरुलाई चोरी काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित भनिएकाले नै बलात्कारको झूटो कथा रचेका तथ्य बाहिर आयो।(नागरिक दैनिकबाट)