नवीनको नवीनतम कला‘मोहिनी’

(अन्जली रम्तेल)

 
काठमाडौं– ‘त्रिविभित्र जाने क्रममा एकपटक बाटोमा हिंडिरहेका बेला मैले एक युवतीलाई देखेँ । उनले माक्स लगाएर हिंडेकी थिइन् उनको अनुुहारको अरु भाग नदेखिएपनि मलाई उनको आँखाले लोभ्यायो । मलाई मेरो कलाका लागि उपयुक्त पात्र भेटिए झैँ भयो । दुई घण्टा लगाएर मसँगै रहेको अर्को साथी र मैले उनको पिछा गरिरह्यौँ ।’
कलाकार नवीन सुवेदीको जीवनमा यो भुल्न नसकिने एउटा घटना रह्यो । ती युवतीलाई भेटेपछि आफ्नो कलाको एक पात्र बन्न आग्रह गरे । उनले नपत्याउने पो हो की भनेर आफूसँग भएका यसअघिका कलालाई पनि देखाए । अनि मात्र उनले मानिन् । तत्काल उनको फोटो खिचेर नवीनले राखे ।
सम्पर्क नम्बर लिएर उनले पछि स्टुडियोमा नै ती युवतीलाई बोलाए र उनको झण्डै पाँच फिट अग्लो मुर्ति तयार पारे । कुनै चीजप्रति ज्यादै आशक्ति भयो भने त्यो पाउन मानिस आफ्नो भोक, प्यास निन्द्रा सबै त्याग्न सक्छ । त्यही कुरा लागु भएको देख्न सकिन्छ कलाकार नवीनको कलामा ।
उनले तीन वर्षअघि गरेको त्यो मेहेनन अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा देख्न सकिन्छ । ‘सुमी’ शीर्षकमा राखिएको सो मुर्तिअगाडि तस्बिर खिचाउनेको घुइँचो लाग्ने गरेको छ ।
यही माघ १० गतेदेखि २३ गतेसम्म प्रदर्शनी हुनेछ । उनले प्रदर्शनीको शीर्षक ‘मोहिनी’ राखेका छन् । काल्पनिक पात्र बनाएर कसैको प्रेममा पागल भइरहेकी एक युवतीलाई मुर्तिमार्फत् देखाउन खोजेका छन् ।
कलाकार सुवेदीले त्यो मुर्ति हेरेर किन त्यसको शीर्षक मोहिनी राखिएको होला भन्ने अनुमान भने दर्शकलाई नै छाडिदिएका छन् ।
उनले विभिन्न क्षेत्रका व्यक्तित्वको समेत मुर्ति तयार पारेका छन् । गायक रामकृष्ण ढकाल, गीतकार कृष्णहरि बराल, कलाकार सुनिल पोखरेल, राजेश हमाल, बाबु बोगटी, ऋचा शर्मालगायतका कलाकारको मुर्ति बनाइसकेका छन् । प्रदर्शनीमा करिब १५ मुर्ति देख्न सकिन्छ । जसमा अधिकांश मुर्ति ‘रोमान्टिक न्यूड’ थिममा आधारित छन् । सोही थिममा आधारित ‘डान्सिङ’ मुर्ति बनाउने क्रममा उनको छुट्टै रमाइलो अनुभव छ । उनले भने– ‘ढुङ्गामा त्यो मुर्ति बनाउने बेला ढुङ्गा असाध्यै गह्रौ भएकाले ढलेको ढल्यै गरेकोे थियो अन्तिममा केही सीप नलागेपछि मैले डोरीले बाँधेर त्यो मुर्ति बनाएँ । त्यसैले राम्ररी हेर्ने हो भने मुर्तिको केटीको एउटा खुट्टा बाङ्गो छ ।’
मोरङ्का स्थानीयवासी नवीन आफ्नो मुर्तिकलाका लागि आवश्यक पर्ने ढुङ्गा त्यहीँको स्थानीय खोला चिसाङ् र भल्वाबाट ल्याउने गर्छन् । एउटै ढुङ्गाबाट मुर्ति बनाउनुपर्ने भएकाले कहिलेकाहीँ ढुङ्गा बोक्ने मानिस नहुँदा समस्या पर्ने गरेको उनी सुनाउँछन् ।
उनले बनाएका मुर्ति हेर्दा लाग्छ मुर्तिकलाका लागि उनले भएभरको आफ्नो मेहेनत, समय खर्चेका छन् । तर उनको यही कामप्रतिको लगाव र खटाई आमा बाबुका लागि टाउको दुखाई बन्थ्यो । उनी भन्छन्–‘सुरुमा परिवारको सहयोग थिएन यो पेशामा लाग्न । ममीले कराउनुहुन्थ्यो रात रातभर नसुती काम गरेको देख्दा म चाहीँ सरको लागि बनाएको हो भन्थेँ । कक्षा १० पुगेपछि भने सरस्वतीको मुर्ति बनाइदिएवापत अलि अलि पैसा आउन थालेको देखेर भने उहाँले कराउन छाड्नुभयो ।’
उनको रहर र मेहेनतलाई देखेपछि भने परिवारले पनि सहयोग गर्न थालेको उनले बताए । उनले यही विषयमा त्रिविबाट स्नातकोत्तर गरिसकेका छन् । पहिले देवीदेवताको मुर्ति बढी बनाउने चलन भएपनि अहिले समसामयिक विषयवस्तुमा आधारित मुर्तिकलाले आम मानिसको मन जित्न थालेको उनको ठम्याई छ । ११ वर्षको उमेरदेखि मुर्तिकलामा लागेका ३२ वर्षे नवीनले अब यसैलाई आफ्नो भविष्य बनाउने निश्चय गरिसकेका छन् । ‘म मुर्तिकलामा नै केही गरेर देखाउन चाहन्छुु’–उनले भने ।