मधेसी नेताहरुले सामूुहिक रुपमा भने,‘आन्दोलनको स्वरुप परिवर्तन हुन्छ’

माघ २१ काठमाडौं– मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मोर्चाको अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनीहरुले एकै खाले आन्दोलन लामो समयसम्म लैजान नसकिने र आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै गएकोले मोर्चाको आगामि बैठकले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए ।
साक्षात्कारमा तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै नाशले धेरै अगाडि सम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे ।
उनले भने,‘ हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रयाप्त छलफल गरेका छौ । मोर्चाको बैठकमा हामी त्यो कुरा राख्छौ ।’
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गरे ।
उनले भने,‘ अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । राजधानी केन्द्रीत नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ ।’
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित मधेसी जनता नै नभएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसकोलागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल संबोधन हुनु पर्ने जिकिर गरे । यद्यपि उनले आन्दोलन भने माग पुरा नहुन्जेल जारी रहने बताए ।
मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दावी गर्दै सुमनले भने,‘ पीडा पर्दा कुटुम्बको मा जाईन्छ । आन्दोलनको विषयमा देश विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नेताहरु विहार जानु भएको हो । विहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन । नेपालबाट २० लाख विहारमा बुहारी भएर गएका छन । हाम्रो विहारमा पारिवारिक, भाषिक, सास्कृतिक सम्बन्ध छ । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक समर्थन खोजेको होईन ।’