समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन माग

माघ २१ काठमाडौं– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेको छ ।
नीलहिरा समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले समलिङ्गी विवाहलाई मान्यता नदिए समाजमा विकृति आउने भएकाले यसलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत वासुदेव बजगाईले समलिङ्गी विवाहलाई मान्यता दिन कानुन निर्माण गरिनुपर्नेमा भन्दै यो समुदायका व्यक्तिले आफूले नचाहेकोसँग बाध्यतावस विवाह गर्नुपर्दा उनीहरु विभेदमा परिरहेको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषय पाठ्यक्रम र शिक्षक तालिम सामग्रीमा राख्न थालिएको जानकारी दिँदै  शिक्षक आरक्षणबारे शिक्षा ऐन नियममा संसोधन हुनुपर्नेमा जोड दिए ।
राहदानी विभागका अधिकृत ज्ञानबहादुर मगरले विभागलाई नागरिकताका आधारमा राहदानी जारी गर्न कुनै समस्या नरहेको वताउँदै नागरिकता लिन समस्या भएपनि राहदानी लिन कुनै समस्या र अबरोध नभएको स्पष्ट पारे ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले केही बर्षदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदाय माथि हुँदै आएको विभेद अन्त्य गर्न सँगसँगै काम गरिरहेको बताउँदै छिट्टै यो समुदायबारे नीति निर्माण तहमा रहेकालाई बुझाउन संयुक्त अन्तरक्रिया गर्ने तयारी भइरहेको जानकारी दिए ।
समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, तेस्रोलिंगी आनिक राना, तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहलगायतले समाजले अझै समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई स्वीकार्न नसकेको बताउँदै संविधानले आफ्नो समुदायलाई दिएको अधिकार कार्यान्वयनका लागि दबाब दिने कार्यलाई निरन्तरता दिने बताए ।