काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन ः बिजुक्छें

माघ १४, भक्तपुर–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपाली कांग्रेसको महाधिबेशन पश्चात काँग्रेसको नेतृत्वमा मधेशबादी दल, एनेकपा माओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताए ।
उनले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरी सुगौली सन्धीको पुनराबृत भएको बताए ।
नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीहरुले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।
हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्ट्राचार मौलाएको र चुनाब ताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुका साट्टो बढेको उनको दाबी छ ।
तराई आन्दोलन संबिधान संशोधन गरेर केहि शान्त भएता पनि अब मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरे सम्म शान्त नहुने समेत उहाँको भनाई छ ।
उहाँले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार बिदेश पठाएर गुण लगाए बापत पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बिश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार बिदेश पठाउने काममा मद्दत गरेको समेत आरोप लगाउनु भयो ।