देश, जनता र क्रान्तिका लागि पार्टी एकता अनिवार्यः प्रचण्ड

माघ १४, काठमाडौं –एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीहरुको एकता देश, जनता र क्रान्तिका लागि अनिवार्य भइसकेको बताएका छन् ।
उनले माओवादी पार्टीहरुको एकतामा जोड दिने समुहसँगको भेटघाटमा सो कुरा बताएका हुन् ।
माओवादी पार्टीहरुको एकताका लागि ७ बुँदे आग्रह पत्र पत्रकार दीपेन्द्र रोकायाले पढेर बुझाएपछि ‘हामी विरामी भएजस्ता भएका छौ, जिउँदै उपचार गरी एकता अनिवार्य भईसकेको छ’ भन्दै अध्यक्ष प्रचण्डले अगाडि भने,  ‘तपाईहरुको अभियानले मलाई भोलिदेखि सो पहल गर्न सजिलो भयो र यी सात बुँदा मेरा पनि भए ।’
माओवादी एकता देश, जनता र क्रान्तिको जिम्मेवारीका हिसावले हुनपर्नेमा जोड दिदै उनले नेकपा (क्रान्तिकारी माओवादी) को वैठकले एकता सम्बन्धी सकारात्मक निर्णय गरेको, अध्यक्ष किरण, मणि थापा र मातृका यादवसँग छलफल भईरहेको जानकारी दिए । उनको विचारमा आउँदो फागुन १ गते पार्टी एकताको लागि अवसर भएकाले केही न केही घोषणा हुनेछ ।
बुधवार साँझ लाजिम्पाटस्थित निवासमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले ‘अव जाग्यो माओवादी’ भन्ने स्थिति निर्माण गरेकोमा माओवादी एकता अभियानमा लागेका प्रा डा गोपाल शिवाकोटी, शान्ता श्रेष्ठ, दीपेन्द्र रोकाया, डा अष्टमान किसी महर्जन, प्रा अमन श्रेष्ठ, रामचन्द्र हुमागाई, दीपक बुढा, देवकी तिमल्सिना, निलम प्रभा, देवीकृष्ण रोकाया लगायतसँग आभारी प्रकट गरेका थिए । उनको भनाई छ, ‘राष्ट्रिय परिस्थिति अप्ठेरोमा भएको बेला वैचारिक रुपमा कम्युनिष्ट, त्यसमा माओवादी एकता गराउन खोज्नु महान उद्देश्य हो ।’
आफुहरुबीच केही कुरामा हेर्ने र भन्ने सन्दर्भमा फरक भएपनि जनवादी क्रान्तिको पुरै चरण सकियो भन्ने पक्षमा आफु नरहेको स्पष्ट पारे । यसैगरी उनले भने, ‘यो संविधानलाई पनि हामीले सबै ठिक छ भनेका छैनौ ।’ आधारभुत रुपमा माओवादीहरुमा भिन्नता नरहेकोले माओवादी वा माओविचारका आधारमा पार्टी एकता जस्तोसुकै वर्गवैरी लागेपनि रोक्न नसक्ने दावी पनि उनले सोही अवसरमा गरे ।
यसअघि सोही समुहले नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी) का संयोजक मातृका यादवसँग भेटघाट गरिसकेको छ ।