उद्योगमन्त्रीको गाडीले तेलको लाइन मिच्दा…..

माघ १४, काठमाडौं– बुधबार बिहानको पौने १२ बजे – नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्प। बिहानै तीन बजेदेखि नै पेट्रोल भर्न बसेका सवारीसाधनको लामो लाइन। एकाएक उद्योगमन्त्री सोमप्रसाद पाण्डे चढ्ने झन्डावाला बा।१झ ८२२९ नम्बरको कालो रङको प्राडो हुइँकिँदै आयो। सर्वसाधारणको लाइन मिच्दै आएको प्राडो गाडी सीधै पेट्रोलपम्पभित्र छिर्न खोज्यो। लाइन बसेका सर्वसाधारणले विरोध जनाए। नजिकै रहेका लाइन व्यवस्थापनमा खटिएका प्रहरीले रोक्न खोजे। तर, चालक रोकिने मुडमा देखिएनन्। एक्सिलेटर बेस्सरी थिच्दै जबर्जस्ती भित्र छिर्न खोजे।

सर्वसाधारणले गरे विरोध

१५ लिटर पेट्रोलका लागि अघिल्लै दिनदेखि गाडी लाइनमा राखेका सर्वसाधारण बुधबार बिहान तीन नबज्दैदेखि पम्प पुगेका थिए। आफूहरूको लाइन मिच्दै हुइँकिएर सीधै पम्पमा छिर्ने मन्त्रीका चालकको हर्कत उनीहरूलाई मन परेन। सर्वसाधारणले मन्त्रीको गाडी त्यहाँबाट हटाउनुपर्ने भन्दै निरन्तर हुटिङ गरे। त्यसपछि प्रहरीले जबर्जस्ती नगर्न आग्रह गरे पनि प्राडोका जब्बर चालक टेर्ने पक्षमा देखिएनन्। उनी जबर्जस्ती लाइन मिच्दै अघि बढ्न खोजे।

चालकको अटेरी हर्कत

लाइन व्यवस्थापनमा खटिएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक शैलेश न्यौपाने नजिकबाट अटेरी चालकको हर्कत नियालिरहेका थिए। मन्त्रीका चालकले निकै तमासा गरेपछि उनी कारको नजिकै गए र लाइन नमिच्न आग्रह गरे। तर, प्रहरी निरीक्षक न्यौपानेको आग्रह चालकले पटक्कै टेरेनन्। उनी जबर्जस्ती अघि बढ्न खोजेपछि भने प्रहरी निरीक्षक न्यौपाने गाडीकै अगाडि पुगेर उभिए। तैपनि उनलाई किचौँलाजस्तै गरी चालकले एक्सिलेटर दबाएर गाडीबाट आवाज निकालिरहेका थिए।

मन्त्रीलाई फोन लगाएर प्रहरीलाई तर्साउने प्रयास

प्रहरी निरीक्षक सामुन्ने उभिएपछि फुर्तीसाथ छाती फुलाउँदै मन्त्रीका चालक गाडीबाट बाहिर निस्किए। खल्तीबाट मोबाइल फोन झिके र मन्त्री पाण्डेलाई फोन लगाए। प्रहरी निरीक्षक न्यौपानेको नजिक पुगेर हप्काउँदै प्रश्नहरूको वर्षा गरे, ‘यो गाडी कसको हो थाहा छ? उद्योगमन्त्रीको नाम सुन्नुभएको छैन? मन्त्रीज्यूको गाडी रोक्ने हिम्मत कहाँबाट आयो? मन्त्रीको गाडीले पनि सर्वसाधारणले जस्तै लाइन कुरेर तेल हाल्नुपर्छ?’ अन्तिममा उनले भने, ‘बाटो छोड्नुस्। म तेल हालेर जान्छु।’(नयाँ पत्रिका दैनिकबाट)