आतंकवादीकी पत्नीलाई २ करोड जरिवाना

माघ १२, काठमाडौँ– सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवान हुने ठहर गरेको छ।
गिरीका पति निरजंन होजाई भन्ने भारतीय नागरिकलाई भने सर्वोच्चले ८ करोड रुपैयाँ जरिवाना गरी ४ वर्ष कैद गरेको छ। उनी निर्मल राई नामले नेपाली नागरिकता लिई नेपालमा बस्दै आएका थिए।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरी ती दुईलाई उक्त सजाय गरेको हो। भारतीय नागरिक होजाई नेपालमा बसी हाउजिङ कम्पनी र गाडीको कारोबार गर्ने कम्पनी खोलेको र सो बमोजिम उल्लेख्यरुपमा घर र गाडीको कारोबार गरेको बताइएको छ। त्यस्तो कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह भएको हो।

भारतीय उग्रवादी संगठन ब्ल्याक विडो ग्रुप आसामका सैन्य कमान्डरका रुपमा कार्यरत रहेको बेला नेपाल प्रहरीले उनलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो।  (नेपाल समाचार पत्र दैनिकबाट)