संसार देख्ने रहर पुरा हुँदाको खुशी

–पार्वती थापामगर
‘म अहिले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी ठान्छु, अन्धकार जीवन त्यागेर उज्यालो संसार हेरेको त्यो दिन शायद मेरो पुनर्जन्म थियोे ।’ जन्मेको १० वर्षपछिमात्र संसार हेर्न पाएका स्याङ्जा सेतीदोभानका १९ वर्षीय सविन बोगटी आफूलाई संसारकै भाग्यमानी ठान्छन् ।
जन्मदा दुवै आँखामा दृष्टि नभएका सविनलाई १० वर्षसम्म आफू हुर्कँदै गरेको आभास नै भएन । ‘जब मैले पहिलो पटक यो संसार देखेँ त्यही दिन मेरो जन्म भएको महसुस भयो’, उनले भने, ‘जन्म दिने आमाको समेत अनुहार देख्न नपाउँदा मुटु पोल्थ्यो, एकपटक आमाको अनुहार हेर्न पाए हुन्थ्योजस्तो लाग्थ्यो ।’ ती दिनहरू सम्झदा उनी आफूलाई अभागी ठान्थे तर अहिले आफूमा खुशीको सीमा नरहेको बताउँछन् । जन्मैदेखि दुवै आँखा नदेख्ने सविनको ९ वर्षअघि नेपाल आँखा बैंक तिलगंगाले दुवै आँखा प्रत्यारोपण गरिदिएको थियो ।
आँखा प्रत्यारोपणपछि पढ्न सुरु गरेका उनी अहिले वीरेन्द्र सैनिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छन् । तिलगंगा आँखा अस्पताललगायत अन्य अस्पतालले आँखा दानको विषयमा जनचेतना जगाउन सके धेरै दृष्टिविहीनले नयाँ जीवन पाउने उनको भनाइ छ ।
यस्तै ललितपुर लुभुकी विद्यालक्ष्मी नापित श्रीमान्ले धर्ती छोडे पनि उनको आँखाले संसार देखेकोमा खुशी छन् । गत वर्ष फागुनमा निधन भएका उनका श्रीमान् विष्णुबहादुर नापितको आँखा उनकै इच्छानुसार दान गरिएको थियो । ‘श्रीमान् मरेर गएपनि आफ्ना दुवै आँखा कसैलाई दान गरेर उज्यालो दिनुभएको छ । मेरो लागि योभन्दा ठूलो खुशी केही हुन सक्दैन’, उनले भनिन्, ‘श्रीमान्ले कसैको जीवनलाई उज्यालो दिएर जानुभयो उहाँको श्रेय मैले पाइरहेकी छु ।’
‘आँखा दान महादान’ भन्ने उक्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रमअन्तर्गत आँखा बैंक तिलगंगाले हरेक वर्ष मरणोपरान्त आँखाको नानी निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गर्नेगरेको छ । विभिन्न कारणले दृष्टि गुमाएकामा बैंकले आँखाको नानी प्रत्यारोपण गरेर उज्यालो ल्याइदिनो गरेको छ ।
बैंकले आँखाको नानी संकलन र प्रत्यारोपण कामले धेरैको जीवनमा खुशीयाली ल्याएको जनाएको छ । मृत्युपछि आँखा दान गर्नेको संख्या करिब ६३ हजार पुगिसकेको छ । झण्डै ११ हजार जनाले आँखाको नानी प्राप्त गरिसकेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले आँखा जीवनको सबैभन्दा महत्वपूर्ण अंग भएकाले सबैले यसको रक्षा गर्न जरुरी रहेको बताइन् । उनले धेरैजसो मानिसले आँखा हेरचाहमा ध्यान नदिएको पाइएको अध्ययनबाट पुष्टि भएको बताइन् । उनले आँखा प्राप्त गर्नुभन्दा रक्षा गर्नु श्रेयस्कर भएको सुझाइन् ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीले आँखा बैंकले समाजसेवाको नमुना प्रस्तुत गरेको बताए । उनले ग्रामीण भेगमा आँखाको नानी दानको विषयमा जनचेतना जगाउनु आवश्यक रहेको बताए । नेपाल राष्ट्रिय अपांग महासंघले अपांगता भएका व्यक्तिमध्ये १८ प्रतिशतभन्दा बढी दृष्टिविहीन रहेको जानकारी दिएको छ ।