संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा निष्पक्ष अनुसन्धानको माग

माघ ११, काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीको भारदह, राजबिराज, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर रौतहटको गौर, बाराको कलैया, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया र मोरङको रंगेली तथा डायनियामा भएको घटनाहरुको अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
आयोगमा बुझाइएको मोर्चाको ज्ञापन पत्रमा फौजदारी न्याय प्रणाली अन्तर्गत मानवअधिकार उल्लंघनकर्तालाई कारबाही गर्न तथा पीडित परिवारलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन, आन्दोलनमा गोली चलाउने सुरक्षा निकाय लगायत अन्य संलग्न जोसुकैलाई अनुसन्धानको दायरामा ल्याई दोषी देखिए कारबाहीको लागि सरकारलाई सिफारिश गर्न आग्रह गरिएको छ ।
शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने नागरिकको अधिकार हुँदा हुँदै पनि आफुहरुको  आन्दोलनलाई सरकारले दमन गर्दै आएको तर्फ आयोगको ध्यानाकर्षण गराइएको थियो । आन्दोलनमा अहिलेसम्म ५४ जना आन्दोलनकारीको मृत्यु भइसकेको आयोगलाई स्मरण गराउँदै आयोगले यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको हल खोज्न सरकारलाई दबाब दिनु पर्ने समेत मोर्चाको धारणा थियो ।
तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका वरिष्ठ नेता रामनरेश राय, संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला र सद्भावना पार्टीका महासचिव मनिष सुमन समेतको टोलीले आयोगमा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले पहिचान र अस्तित्वको लागि भएको आन्दोलनलाई सरकारले संवेदनशील भई सम्बोधन गर्नुपर्ने बताए ।