मृगौला पीडितको माग पुरा नभए पद त्याग्ने उद्योग राज्यमन्त्रीको घोषणा

माघ ११, काठमाडौ– आफू स्वयम मृगौला रोगबाट पीडित रहेका उद्योग राज्यमन्त्री मेघराज नेपाली निषादले मृगौला पीडितको निशुल्क उपचारको ब्यवस्था सहितका मागहरु पुरा नभए मन्त्री पद त्याग्ने घोषणा गरेका छन ।
राष्ट्रिय मृगौला पीडित संघ नेपालले आयोजना गरेको अन्र्तक्रियामा उनले भने,‘ मेरो लागि मन्त्री पद ठूलो होईन । म पहिला मृगौला पीडित हुँ अनिमात्रै मन्त्री हुँ । म मृगौला पीडितहरुको माग पुरा गर्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्री सबै कहाँ गएर पहल गर्छु । माग पुरा भएनन भने मन्त्री पद त्यागेर संघर्ष गर्न तयार छु । ’
अधिकांश समय भावुक भएर प्रस्तुत भएका मन्त्री निषादले मृगौला रोगको उपचार मंहगो भएको कारण विपन्न उपचार विना मर्न बाध्य भईरहेको भन्दै जनताको जीवन रक्षा दायित्व राज्यको भएकोले यसमा विशेष ध्यान दिनु पर्ने बताए ।
राज्यमन्त्री निषादले मृगौला रोगको उपचारकोलागि राज्यले स्वदेशमै स्तरीय सेवाको लागि पूर्वाधार निर्माण गरेर उपचारलाई सर्वसुलभ र सस्तो बनाउनु पर्ने भन्दै यसको लागि आफूले सरकारमा रहेर पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सस्थाले ७ बुँदे माग सार्वजनिक गरेको थियो । जसमा बजेटमै निशुल्क डायलासिस र प्रत्यारोपको ब्यवस्था गर्नु पर्ने, अगंदान प्रत्यारोपण सम्बन्धी कानूनी दायर फराकिलो बनाउनु पर्ने, विषादीरहित राष्ट्र निर्माण गर्ने पहल गर्नु पर्ने, मृगौला रोग सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने, सार्वजनिक यातायातमा भाडा छुट गर्नु पर्ने, मृगौला रोगीलाई अपांगको सूचीमा राख्नुपर्ने लगायतका रहेका छन ।
सस्थाका कार्यक्रम संयोजक समिर कुमार पोख्रेल, अमिर मोक्तान, सुमन शाक्य, शिवप्रसाद खनाल, विष्णु चौगुठी लगायतले मृगौला रोगको उपचार नेपाली जनताले धान्न नसक्ने भएकोले यसमा सबै सरोकारवालाहरुको ध्यान जानुपर्नेे भन्दै आफूहरुको माग पुरा नभए त्यसै मरेको मान्छे आन्दोलन गर्दा गर्दै मर्न पनि तयार रहेको चेतावनी दिएका थिए ।