रंगेली घटना दोहोरिन दिनु हुँदैन

माघ ९, काठमाडौ–मानवअधिकार तथा शान्ति समाज नेपालले बिहिवार मोरङ्गको रंगेलीमा भएको घटनाका कारण तीन जनाको मृत्यु हुनु अत्यन्त दुःखद रहेको भन्दै यस घटनाका दोषीलाई कारवाही गरी घटना फेरी दोहोरिन दिन नहुने बताएको छ ।
समाजले आज विज्ञप्ति जारी गर्दै युवा सङ्घद्वारा आयोजित कार्यक्रमका दौरान मधेसी मोर्चाका कार्यकर्ताले व्यवधान शुरु गरेपछि प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताहरुबीच भएको झडपमा प्रहरीको गोली लागि तीनजनाको मृत्यु र एक दर्जनभन्दा बढी घाईते भएको घटनाले मर्माहत भएको जनाएको छ ।
विज्ञप्तिमा एकातिर अरुलाई निषेध गर्ने र जोर जबरजस्ती गर्ने मधेशी मोर्चाको चरित्र लोकतन्त्र र शान्तिका सास्वत मान्यता बिपरित छ भने अबिभावकको भूमिकामा रहनुपर्ने राज्यसत्ताबाट नै नागरिकको जीवन हरण हुनु दूर्भाग्यपुर्ण एवं निन्दनीय भएको उल्लेख गरिएको छ ।
हाल चलिरहेको मधेश आन्दोलनको सन्दर्भमा संवादलाई तिब्र बनाउँदै सहमतीमा पुग्नुपर्नेमा ब्यवधान, मुठभेड र भिडन्तको मार्ग अवलम्बन गरेर प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार र मधेशी मोर्चा दुवै अराजकतालाई बढावा दिंदै गैह्र जिम्मेवार रुपमा प्रस्तुत भएको दुखःद अनुभव भएको जनाउँदै समाजले घाईतेहरुको स्वास्थ्य उपचार र मृतकका परिवारलाई राहत प्रदान गर्न र यस्ता घटनाका लागि जिम्मेवारमाथि कानुनी कारवाही गरि भबिष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न आग्रह गरेको छ ।