बोक्सी लागेको भन्दै नाबालकलाई तातो फलामले डामियो

पाँचथर ओयाम  एक  फाक्लुङमाका डेढ वर्षिय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै धामीले फलाम तताएर डामेका छन्।

स्थानीय बिजुवा (झाँक्री)ले बोक्सी लागेको भन्दै शरीरको पछाडिपट्टीको भाग, पिठ्यु, र खुट्टामा फलामको फाली र लोहोरो तताएर डामेका हुन्।

१५ महिने  बालकलाई  झाडा पाखाल लागेर बिरामी भएपछि बाबु धनबहादुर राईले बिजुवाहरू सुकबहादुर राई र तीलबहादुर राईलाई झारफूक गर्न भन्दै बोलाएका थिए।

धामीहरूले झारफुक गर्ने भन्दै लोहोरो र फलाम तताएर बच्चालाई तातोमाथि सुताउनुका साथै डामेका थिए। बच्चा रोई कराई गर्दा समेत धामीहरूले केही हुन्न आतिनु पर्दैन भन्दै आगोमा तताएको ढुङ्गा र फलामले डामे घाइते बालककी आमा उर्मिला राईले बताईन्।

पुस २४ गते डामिएका ती बच्चालाई उपचारको कुनै प्रपञ्च मिलाइएको छैन। बालकको देव्रे खुट्टा चलाउन नहुने गरी समस्या भएको साथै डामेका घाउहरु समेत पाक्न थालेको स्थानीयले बताएका छन्।

‘डामेको १२ दिन भइसक्दा पनि उपचारको कुनै व्यवस्था गरीएको छैन। उपचार नहुँदा घाउ पाक्न थालेको छ,’ आमा उर्मिलाले भनिन्।

अन्धविश्वास र गरिबीको कारण समयमा घटना सार्वजनिक नभएको स्थानीयले बताएका छन्।

परिवारका सदस्यहरुको हेलचेक्र्याइ र अन्धविश्वासकै कारण घटना भएको १२ दिनसम्म सार्वजनिक नहुनु दुखद भएको मानव अधिकारकर्मी सहमान विकले बताए। समुदायमा यस्ता खाले अन्धविश्वासको रूपमा रहेको कुरीतिजन्य हिंसा न्युनिकरण गर्न सवै पक्ष लाग्नुपर्ने साथै घटनाका दोषिको पहिचान गरी कानूनी कारबाही गर्नुपर्नेसमेत विकको भनाइ छ।

स्थानीय प्रशासन भने यो घटनासँग बेखवर छ। घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेको र प्राप्त जानकारीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए।