भट्टराईको नाम हटाइएकोमा विरोध

माघ ७, काठमाडौं –नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाम राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठानबाट हटाउने सरकारी निर्णयका विरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईको नाम हटाउने सरकारी निर्णय विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । युनियनले सञ्चार मन्त्रालयले भट्टराईको नाम हटाएर प्रतिष्ठान गठन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गर्न पत्रकारिताको इतिहासविरुद्ध हुने भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।
‘सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उहाँको नाम हटाए प्रजातन्त्रका धरोहर स्वर्गीय भट्टराईप्रति अपमान हुने मात्र होइन, सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जाने छ भन्ने हाम्रो निष्कर्ष छ । तसर्थ आफ्नै इतिहास र गौरव मेटिने कदम नचाल्न हामी सरकारलाई सचेत गराउन चाहन्छौ ।’, सिग्देलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रेस युनियन काठमाडौं शाखाले सरकारी निर्णय विरुद्ध बुधबार हस्ताक्षर अभियान तथा विरोध सभा आयोजना गर्यो । विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं वरिष्ठ पत्रकार हरिहर विरहीले भट्टराईका नाममा सरकारले प्रतिशोध साँध्नु गम्भीर भूल हुने बताए । ‘कृष्णप्रसादको इतिहास पढ्नुस् । उहाँ लोकतन्त्रवादीको मात्रै नेता होइन वामपन्थीहरुलाई पनि अप्ठेरोमा गुण लगाउने नेता हुनुहुन्थ्यो । उहाँको अपमान गरेर सरकारले आफ्नो सम्मान जोगाउन सक्दैन ।’, विरहीले भने ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले भट्टराईको नाम हटाउने निर्णयका विरुद्ध अवज्ञा आन्दोलन गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको निष्ठा र निष्पक्षतामाथि प्रश्न उठेको आरोप लगाउँदै महासंघले आफ्नो इतिहास जोगाउन पहल नगरेको बताए ।