असारभित्रै फोहोरबाट ग्यास निकाल्ने महानगरपालिकाको तयारी

माघ ७, काठमाडौँ– फोहोर समस्या र इन्धन अभावले आजित उपत्यकाबासीका लागि काठमाडौं महानगरपालिकाले फोहोरबाटै ग्यास निकाल्ने भएको छ।

उपत्यकामा थुप्रिएको फोहोरबाट आगामी असारभित्रै जैविक ग्यास निकाल्ने गरी महानगरले काम सुरु गरेको छ। एउटै प्लान्टबाट फोहोर प्रशोधन गरी ग्यास, जैविक मल र पानी एकसाथ निकाल्ने तयारीमा महानगर रहेको छ।

कठमाडौ महानगरपालिकाको १२ र १९ नम्बर वडाबाट उत्पादन हुने फोहोर संकलन गरी त्यसबाट ग्यास, मल र पानी उत्पादन गर्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ। दुई बडाका ५ सय ६५ परिवारले निष्कासन गरेको फोहोर संकलन गरी त्यसबाट दैनिक ९६ किलो ग्यास उत्पादन हुने महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए।

‘दुई वर्ष अघिदेखि नै काम भइरहेको छ, हामी आगामी असारभित्रै ग्यास उत्पादन गरिसक्छौँ, उनले भने।’ तर त्यसका लागि परियोजनाले राम्रो काम गरेर देखाउनु पर्ने उनको धारणा छ।

महानगरको दुई वडामा संकलित फोहोरबाट मात्रै ९६ किलो ग्यास उत्पादन हुँदा ३ सय किलो जैविक मल उत्पादन हुने परियोजनाले जनाएको छ।(राजधानी दैनिकबाट)